तोलाकान्त बगाले
वालिङ २५ फागुन ।
स्याङ्जाको वालिङ खेलमैदानमा शुक्रबारदेखि खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । वालिङ भलिबल क्लबले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा आजदेखि ३० गतेसम्म खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
भलिबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै वालिङ नगर प्रमुख कृष्ण खाँणले आगामी तीन वर्षमा खेल क्षेत्रको विकासमा महशुष हुने गरी नीति नियम तथा बजेटको ब्यवस्था गर्ने बताउनुभएको छ । वालिङ नगरभित्रका पुरुष तथा महिला फुटबल, भलिबल लगायतका खेलकुद प्रतियोगितामा निक्कै अगाडि रहेको अवस्थामा नगरले खेल क्षेत्र तथा खेलाडीको क्षमता विकासकालागि बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभएको हो । नगरभित्रका १४ वटै वडामा आधारभूत खेलकूद मैदान निर्माण गर्दै जाने नीति नगरको रहेको बताउँदै वालिङ खेलमैदानका विषयमा अब छिट्टै टुङ्गोमा पुग्ने जानकारी गराउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङ, परिषदका सदस्य सचिव श्रीधर शर्मा, वालिङ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारी, वालिङ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका कार्यालय प्रमुख देवबहादुर बोगटी, वालिङ भलिबल क्लबका सदस्य जङ्गबहादुर गुरुङलगायतले यस प्रतियोगिताले यस क्षेत्रको खेल गतिविधिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरसम्म पु¥याउन सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभएको थियो । यस प्रकारका प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिनकालागि सबै पक्षको साथ र सहयोग जरुरी रहेको बताउनुभएको थियो ।
क्लबका अध्यक्ष दीपेन्द्र खाँणको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहको सञ्चालन सचिव हुमराज गुरुङले र स्वागत उपाध्यक्ष राजु खड्काले गर्नुभएको थियो ।
भलिबल खेललाई दीगोरुपमा विकास र संरक्षण गरी यस क्षेत्रको भलिबल खेल तथा खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमासम्म पु¥याउने उद्देश्यसहित प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष दीपेन्द्र खाँणले बताउनुभयो ।
स्याङ्जासहित आसपासका जिल्लामा स्थापित पुरुष खेलाडीहरुको स्थायित्व र लुकेर रहेका नयाँ नयाँ खेलाडीहरुको प्रतिभा प्रदर्शन गर्नकालागि यस प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उहाँले बताउनुभयो ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा खेल प्रदर्शन गरेका ख्यातिप्राप्त खेलाडीहरुसहितका ९ टिमहरु सहभागी छन् भने भेट्रान्सतर्फ ८ टिम सहभागी छन् ।
प्रतियोगिता लिगकम नकआउट विधिबाट सञ्चालन हुने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख ५० हजारसहित शिल्ड प्राप्त गर्नेछ । द्वितीय हुने टिमले नगद एक लाखसहित शिल्ड प्राप्त गर्दा तृतीय हुने टिमले नगद ५० हजार र शिल्ड एवम् सान्त्वना हुने टिमले नगद २५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने क्लबका उपाध्यक्ष राजु खड्काले बताउनुभयो ।
त्यस्तैगरी विभिन्न सात विधामा पनि खेलाडीहरुलाई पुरस्कृत गर्ने तयारी क्लबको छ । उत्कृष्ट खेलाडीलाई रु. १० हजार पुरस्कारको ब्यवस्था रहेको छ । त्यस्तै वेष्ट स्पाईकर, वेष्ट सेटर, मिडल ब्लकर, वेष्ट सर्भर, वेष्ट डिफेण्डर र उदयीमान खेलाडीलाई जनही ५ हजार पुरस्कार दिने क्लबका कोषाध्यक्ष कृष्ण शर्माले बताउनुभयो ।