तोलाकान्त बगाले
वालिङ, २१ फागुन ।
आप्रवासी स्रोत केन्द्र वालिङमा छ महिनाको अवधिमा तीन हजार जनाले परामर्श लिएका छन् । इलाका प्रशासन कार्यालय वालिङमा राहदानीकालागि आएका ब्यक्तिहरुले चालु आर्थिक वर्षको साउनदेखि पुससम्म सुरक्षित आप्रवासन कार्यक्रम (सामी) बाट तीन हजार पचास जनाले परामर्श लिएका हुन् ।
विशेषगरी वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवम् शोषणरहित बनाउने सामी कार्यक्रमको मुख्य उद्देश्य रहेको सुरक्षित आप्रवासन कार्यक्रम (सामी) का सूचना तथा परामर्शकर्ता कोपिल भुसालले बताउनुभयो ।
सामी कार्यक्रममार्फत मुख्यगरी सीपयुक्त जनशक्तिको विकास, सूचनामा पहुँच, न्यायमा पहुँच, मनोसामाजिक परामर्श र वित्तीय साक्षरताका क्षेत्रमा काम गर्दै आईरहेको उहाँले बताउनुभयो ।
“इलाका प्रशासन कार्यालय वालिङमा राहदानी बनाउन आएका ब्यक्तिहरुको वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित एवम् शोषणरिहत बनाउनकालागि सामी कार्यक्रममार्फत परामर्श दिन्छौं” उहाँले भन्नुभयो, “परामर्श लिएर वैदेशिक रोजगारीमा जाँदै गर्दा धेरै सहज भएको बुझाई हाम्रो छ ।”
आप्रवासी स्रोत केन्द्र वालिङमा परामर्श लिनेहरु दैनिकजसो आउने गरेका छन् । इलाका प्रशासन परिसरमै रहेको उक्त केन्द्रमार्फत परामर्श लिनेहरु बढ्दै गएका छन् ।
आप्रवासी स्रोत केन्द्रमा परामर्श लिनेमा छ महिनामा पुरुष एकहजार ६ सय २२ जना र महिला एकहजार ४ सय २८ जना रहेका उहाँले जानकारी दिनुभयो । सबैभन्दा धेरै वालिङ नगरपालिकाका ब्यक्तिहरुलाई परामर्श दिईएको छ । वालिङका कूल ९ सय ८६ जनाले परामर्श लिएका छन् । गल्याङ नगरपालिकाका ६ सय २८ जना, चापाकोट नगरपालिकाका ५ सय २७ जना, कालीगण्डकी गाउँपालिकाका ४ सय ३६, हरिनास गाउँपालिकाका १ सय ६२, भीरकोट नगरपालिकाका १ सय ६१, बिरुवा गाउँपालिकाका १ सय ४५, आँधीखोला गाउँपालिकाका २, पुतलीबजार नगरपालिका, फेदीखोला गाउँपालिका र अर्जुनचौपारी गाउँपालिकाका १ जनालाई स्रोतकेन्द्रमार्फत परामर्श दिईएको हो ।
नेपाल सरकार र स्वीटजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता भई सामी कार्यक्रम सञ्चालनमा रहेको छ ।
वैदेशिक रोजगारमा रहेका नेपाली कामदार र तिनका परिवार राज्य संयन्त्रबाट संरक्षित तथा गन्तब्य मुलुकमा मर्यादित कार्य वातावरणबाट लाभान्वित हुने लक्ष्य यस कार्यक्रमले राखेको उहाँले बताउनुभयो ।