वालिङ, २६ माघ ।
संस्कृतिको संरक्षणकालागि वालिङ महोत्सवमा भजन प्रतियोगिता गरिएको छ । कूल एघार समूहको सहभागिता रहेको प्रतियोगितामा हरेक दिन भजन प्रतियोगिताहरु भईरहेका छन् ।
विहिबार जुनेली भजनकृतन समुह कालिकाकोटसहित अन्य प्रतियोगि समुहहरुले आफ्ना प्रस्तुति राखे । महोत्सवको आर्कषणको रुपमा रहेका कलाकारहरुसंगै यस्ता धार्मिक तथा सांस्कृतिक प्रतियोगिताहरुले दर्शकको ध्यान तानेका छन् । विहिबार जुनेली भजनकृतन समुहले नाटकीय शैलीमा आफ्ना भजन प्रस्तुत गर्दा धेरै दर्शक मञ्चमा केन्द्रित भए । भीरकोट ९ र वालिङ १४ का विभिन्न व्यक्तिहरुको समुह जुनेली भजन समुहले प्रस्तुत गरेको हनुमान लिलाले धेरै दर्शकलाई मञ्चतर्फ केन्द्रित गर्न सफल भयो ।
जुनेली भजन समुहले विद्यालयमा समेत यस्ता विषयवस्तुलाई पाठ्यक्रममा नै समेटेर विद्यार्थीलाई भजनकृतनको ज्ञान समेत प्रदान गरेको समुहका रोमाकान्त न्यौपानेले बताउनुभयो । हनुमान नाँच रामायणको सुन्दर काण्डको कथावस्तुमा आधारित रहेको छ । राम लक्ष्मण, सीता, हनुमान, रामणको पात्रहरु समेत सहभागी बनाईएको हनुमान लिला प्रस्तुत गरिएको थियो । महोत्सवमा मौलिक परम्परालाई प्रदर्शन गर्दै जगेर्ना होस् भन्ने हेतुले हनुमान नाँच प्रस्तुत गरिएको उहाँले बताउनुभयो ।
नाटकीय शैलीको भजन गीतमा सीताको अपहरणदेखि हनुमानले खोेजेर ल्याइएको सम्मका दृष्यहरु समेत प्रस्तुत गरिएको थियो । महोत्सवमा आयोजना गरिएका यस्ता विभिन्न प्रतियोगिताले सांस्कृतिक र धार्मिक परम्परालाई जागाई राख्न तथा नयाँ पुस्तालाई जानकारी गराउन समेत मद्दत पुग्ने सांस्कृतिक उपसमितिका संयोजक अर्यालले जानकारी दिनुभयो ।