वालिङ, ७ पुस ।
सिंहदरबार घरघरमा भन्ने कुरा भाषणमा मात्र सिमित नभएको वालिङ नगर प्रमुख कृष्ण खाँणले बताउनुभएको छ । वालिङ ५ को जगतभञ्ज्याङ स्वास्थ्य चौकीमा १ दिने बृहत निःशुल्क स्वास्थ्य शिविर कार्यक्रममा बोल्दै उहाँले सिंहदरबारको आभास गाउँमै गर्न पाइएको बताउनुभएको हो । उहाँले मानिसको स्वास्थ्यलाई लक्षित गरी आयोजना गरिएको कार्यक्रमले सिंहदरबार गाउँघरमै आएको प्रमाणित गरेको बताउनुभएको हो ।
यस्ता खाले कार्यक्रमलाई निरन्तरता दिदै अगाडि बढ्ने हो भने जनताहरु स्वास्थ्यबाट बिमुख हुन नपर्ने प्रमुख खाँणको भनाई छ । सेवा बजारमा मात्र होइन दूरदराजमा रहेका जनताको लागि पनि गर्नुपर्छ भन्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रम निकै प्रशंसनीय रहेको पनि उहाँले बताउनुभएको छ ।
कार्यक्रममा वालिङका निवर्तमान नगर प्रमुख दिलीपप्रताप खाँण, उपप्रमुख कविता तिवारी गैह्रे, आस्था हस्पिटलका डाक्टर अमृत केसी, वालिङ ५ का निवर्तमान वडा अध्यक्ष ढाकाराम पंगेनी, पूर्व कार्यपालिका सदस्य जमुना केसी लगायतले मन्तव्य राख्नुभएको थियो ।
वालिङ वडा नं ५ आयोजनामा, मिर्दि क्लिनीक र आस्था हस्पिटल प्रालिको प्राविधिक सहयोगमा भएको एकदिने बृहत निःशुल्क स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको हो । शिविरमा ३४७ जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।
साथै निशुल्क भिडियो एक्सरे, रगत तथा पिसाव चेक जाँच गरी निशुल्क औषधि समेत वितरण गरिएको थियो । वडा अध्यक्ष छविलाल आलेको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा सदस्य अनिता नेपालीले स्वागत तथा वडा सचिव डोलजङ गुरुङले सञ्चालन गर्नुभएको थियो ।
शिविरमा मिर्दि क्लिनिकका सन्तोष रेग्मीको नेतृत्वमा आस्था हस्पिटलका मिर्गौला विशेषज्ञ डाक्टर अमृत केसी, फिजिसियन डाक्टर रबिन्द्र पौडेल, हाडजोर्नी तथा नसा सम्बन्धी विशेषज्ञ डाक्टर भीम सिग्देल रेडियोलोजिष्ट नवराज पौडेल, स्त्री तथा प्रसुति विशेषज्ञ डा शंकर राउत लगायतको टोलीले सेवा दिनुभएको थियो ।