मेयर कुलो, बाटो र नागरिकको घरदैलौमा भेटिन्छ–नगर प्रमुख खाँण

0
56
Google search engine

मणीप्रसाद अर्याल
मंसिर १८, वालिङ ।
वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणले आँफू कुलो, बाटो र नागरिकका घर आँगनमा भेटिने बताउनुभएको छ ।
नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरप्रमुख खाँणले प्रचारबाजी कामलाई छोडेर नागरिकमुखी काम गर्न आँफू लगायत नगरका जनप्रतिनिधिहरु तल्लिन रहेको बताउनुभएको हो ।
‘क्यामेराको लेन्स र पत्रिकाका पानाहरुमा छाइरहने पछिल्लो टे«ण्डलाई मैले पछ्याउन सकेको छैन । मेयर कुलो, बाटो, स्कुल र नागरिकका आँगनमा भेटिन्छ’ नगर प्रमुख खाँणले भन्नुभयो– ‘हामीले उपलब्ध स्रोत साधनको उच्चतम उपयोग गर्दै कानून र विधिको सीमामा रहेर तपाईहरुका (नागरिकका) कामहरु गर्ने कसम खाएका छौं र गर्छौं पनि ।’

Google search engine

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागीहरुले सोधेका प्रश्नहरुको जवाफ दिँदै नगरप्रमुख खाँणले बजेटको सीमितताले नागरिकका असीमित चाहनाहरुलाई सम्बोधन गर्न नसकिएको उल्लेख गर्दै आगामी दिनहरुमा बजेटको लागि नगरले प्रदेश र केन्द्र सरकारको मुख मात्र ताकिरहने प्रवृत्तिको अन्त्य गर्न ठोस योजना, आयमूलक काम र स्वरोजगारको प्रत्याभूति हुने गरी काम गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैह«ेले नगरलाई कृषि, पर्यटन र स्वावलम्बनमा आत्मनिर्भर बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
उहाँले यो आर्थिक वर्षलाई कृषि वर्ष र आगामी आर्थिक वर्ष पर्यटन वर्षको रुपमा योजना बनाएको उल्लेख गर्दै नागरिकको समृद्धि अब कृषि र पर्यटनबाट मात्रै संभव भएको स्पष्ट पार्नुभयो ।

स्वरोजगारको लागि आवश्य बजेट र अवसरको नगरले सिर्जना गर्ने उल्लेख गर्दै नगर उपप्रमुख तिवारीले ग्रामिण तहका नागरिकहरुलाई स्थानीय उत्पादनको लागि खटेर लाग्न अनुरोध गर्नुभयो ।
‘युवाहरु विदेशिने र बच्चा पढाउने नाममा महिलाहरुले गाउँ छाडेर शहर पस्ने प्रवृत्तिले गाउँ रित्तिएको छ, यो देख्दा अत्यन्त पीडा लाग्छ, अब गाउँलाई उत्पादनले सिँगार्ने हो’ उपप्रमुख तिवारीले भन्नुभयो–‘गाउँमा उत्पादन भएका फसलहरुलाई बजारको ग्यारेन्टी अब नगरपालिकाले गर्दछ ।’

कार्यक्रममा २०८० श्रावण महिनादेखि कात्तिक मसान्तसम्मको गतिविधि सार्वजनिक गर्दै नगरपालिकाले जम्मा १७.५५ प्रतिशत खर्च भएको जानकारी दिएको छ । हालसम्म ३८ करोड ४१ लाख निकासा भएकोमा जम्मा १७ करोड ४४ लाखको काम हुँदा जम्मा १७.५५ प्रतिशत खर्च भएको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले सार्वजनिक गर्नुभयो ।

शर्माका अनुसार कूल ५ सय ५४ योजनामध्ये ५ सय ४४ वटा योजना सम्झौता हुन बाँकी छन् । सम्झौता गरिएका १० योजनामध्ये २ वटा योजनाको भुक्तानी दिएको छ । पहिलो चौमासिकमा स्वास्थ्य सम्बन्धी गतिविधि प्राथमिकतामा परेको कार्यक्रममा उल्लेख गरिएको छ । स्वास्थ्यका क्षेत्रमा नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा र नगरपालिकाबीचको दुई पक्षीय सम्झौता तथा अभिमुखिकरण, विभिन्न मितिमा मासिक समीक्षा बैठक, सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा सम्बन्धी महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई अभिमुखीकरण गरिएको छ । यसैगरी सामुदायिक स्वास्थ्य तथा घरदैलो नर्सिङ सेवा सम्बन्धी जनप्रतिनिधी, अधिकृत, सामुदायिक नर्स र स्वास्थ्यकर्मीहरुलाई अभिमुखिकरणलगायतका कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ । वडा नम्वर वडा नम्वर ९ र १३ मा क्षयरोगीसँग अन्तक्रिया तथा क्षयरोगमुक्त स्थानीय तह घोषणा अभियान अन्तर्गत वडास्तरीय माइक्रो प्लानिङ भएको उल्लेख गरिएको छ । यस्तै नगरपालिका भित्रका १२ वटा स्वास्थ्य भवनहरुको उद्घाटन एवम् विद्युतीय स्वास्थ्य व्यवस्थापन प्रणालीको कायृक्रमको शुभारम्भ, घरहरुमा नम्वर प्लेट राखी तथ्याङ्क सङ्कलनलगायत स्वास्थ्य सम्बन्धी १७ वटा गतिविधी भएका कार्यक्रम मार्फत जानकारी गराइएको छ ।

यसैगरी शिक्षामा विद्यालय शिक्षा सुधार सम्बन्धत्री वृहत अन्तक्रिया, शिक्षक दरबन्दी मिलानलगायत ६ वटा गतिविधी नगरपालिकाले सम्पन्न गरेको जनाएको छ ।
कतिपय योजनाहरु पहुँचको आधारमा पर्ने गरेका, कृषक पहिचान र अनुदान सहयोग सन्तोषजनक नरहेको, कृषि सडकले प्राथमिकतामा नपारिएको, कृषि उपजको बजारीकरणमा नगरपालिकाले जिम्मा लिनुपर्ने, शैक्षिक सुधारका काम बोले अनुसार हुन नसकेको लगायतका गुनासाहरु सहभागीहरुले राखेका थिए ।

Google search engine