संसदीय पत्रकार मञ्चले गरायो ‘नागरिक सुनुवाइ’

0
133
Google search engine

तोलाकान्त बगाले
वालिङ, १८ मङ्सिर ।
संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशले जनप्रतिनिधिलाई जवाफदेही बनाउन नागरिक सुनुवाइ गरेको छ ।
संसद सहयोग परियोजनाको सहयोगमा सोमबार स्याङ्जाको वालिङ १४ स्थित पेखु ठानामा गण्डकी प्रदेश सभाका सदस्य र नागरिकहरुलाई एकैठाउँमा राखेर नागरिक सुनुवाइ गरेको हो ।
नागरिकका समस्याको समाधानकालागि भए गरेका काम कारवाही लगायतका विषयमा नागरिकले उठाएका सवालहरुलाई निर्वाचित जनप्रतिनिधिले जवाफ दिनुभएको आयोजक संसदीय पत्रकार मञ्च गण्डकी प्रदेशका अध्यक्ष भरत कोईरालाले बताउनुभयो ।
“नागरिकले चुनेर पठाएका जनप्रतिनिधिले नागरिकका समस्याकाबारेमा संसदमा आवाज उठाए नउठाएको, जनप्रतिनिधिहरुले गरेका प्रतिवद्धताको कार्यान्वयनको अवस्थाकाबारेमा सवाल जवाफ भयो” उहाँले भन्नुभयो, “जनप्रतिनिधिलाई नागरिकले निगरानी गरिरहेका हुन्छन्, जनप्रतिनिधि नागरिकप्रति सदैव जवाफदेही हुनुपर्छ भन्ने सन्देश दिनकालागि पनि नागरिक सुनुवाइ गरेका हौं ।”
नागरिकले आँफूले जिताएर पठाएको जनप्रतिनिधिसँग प्रत्यक्षरुपमा सवाल जवाफ गर्न पाउने र जनप्रतिनिधिले गरेका कार्यहरुकाबारेमा नागरिकलाई प्रत्यक्षरुपमा जानकारी गराउन पाउने भएकाले नागरिक सुनुवाइ प्रभावकारी भएको उहाँको दावी छ ।
नागरिक सुनुवाइमा गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्याल र प्रदेश सभा सदस्य कल्पना तिवारीले नागरिकले उठाएका विविध विषयमा जवाफ दिनुभएको थियो ।
वालिङ नगरपालिकाकै दुर्गममध्येको वडा नं १४ मा विशेषगरी सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, बसाई सराई, बाँदर आतङ्कले पारेको असरकाबारेमा नागरिकहरुले आफ्ना जनप्रतिनिधिलाई प्रश्न गरेका थिए ।
“नागरिकहरुले दैनिक भोग्दै आउनुभएका समस्याहरुकाबारेमा बडो मार्मिक ढङ्गबाट हामीलाई जानकारी गराउनुभएको छ” सभापति अर्यालले भन्नुभयो, “नागरिकहरुले उठाएका विषयहरुप्रति म संवेदनशील छु, नागरिकका समस्याको समाधानकालागि समितिको तर्फबाट सरकारलाई निर्देशन दिनेछु ।”
झुट्टा तथा महत्वाकाङ्क्षी योजनाहरु आँफूले नागरिकहरुमाझ कहिल्यै नबाँड्ने बताउनुभयो । उहाँले जे सकिन्छ त्यहीमात्रै बोल्ने तर नसक्ने र महत्वाकाङ्क्षी योजनाहरु नागरिकलाई नबाँड्ने दावी गर्नुभयो ।
अबको चार वर्षमा नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी काम गर्ने प्रतिवद्धतासमेत नागरिकहरुमाझ गर्नुभएको थियो ।
नागरिक सुनुवाई कार्यक्रममा प्रदेश सभा सदस्य कल्पना तिवारीले नागरिकहरुले आँफूहरुमाझ राखेका मागहरुलाई प्राथमिकता र आवश्यकताका आधारमा पूरा गर्दै जाने प्रतिवद्धता जनाउनुभयो ।

Google search engine
Google search engine