तोलाकान्त बगाले
वालिङ, १८ मङ्सिर ।
स्थानीय तहमा अपाङ्गता समावेशी विकास सम्बन्धी सरोकारवाला पक्षसँगको समन्वय बैठक तथा अन्तरक्रिया कार्यक्रम सोमबार वालिङमा गरिएको छ ।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल, स्याङ्जा अपाङ्ग समाज, पैरवी समूह र स्थानीय सरकार सवलीकरण कार्यक्रमको साझेदारीमा वालिङ नगरपालिकाभित्रका बैंक तथा वित्तीय संस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग अन्तरक्रिया गरिएको हो ।
बैंक तथा वित्तीय संस्थामा सेवा लिन आउने अपाङ्गता भएका सेवाग्राहीले सहजताकासाथ सेवा प्राप्त गर्नकालागि सरोकारवाला पक्षसँग अन्तरक्रियात्मक कार्यक्रम गरिएको स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष एवं पैरवी समूहका संयोजक राम शर्मा पोख्रेलले बताउनुभयो ।
अपाङ्गता भएका ब्यक्ति तथा उनीहरुले सञ्चालन गरेका उद्योग तथा ब्यावसायलाई प्रोत्साहन पुग्ने गरी बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्न सक्ने सेवा तथा सुविधाका विषयमा अन्तरक्रियामा छलफल भएको संयोजक शर्माले बताउनुभयो ।
वालिङ बैंकर्स क्लबका अध्यक्ष उज्वल श्रेष्ठले अपाङ्गता भएका ब्यक्तिहरुको आत्म सम्मानमा ठेस नपुग्ने गरी सहज तरिकाले सेवा प्रवाह गर्न वालिङस्थित बैंक तथा वित्तीय संस्थाहरु प्रतिवद्ध रहेको बताउनुभयो ।
उहाँले कार्यालयहरुमा अपाङ्गता भएका ब्यक्तिहरुको सहज आवतजावतकालागि अपाङ्गमैत्री पूर्वाधारहरु निर्माणमा जोड दिईने बताउनुभयो । बैंक तथा वित्तीय संस्थाहरुले प्रदान गर्ने वित्तीय साक्षरता अभियानमा अपाङ्गता भएका ब्यक्तिहरुलाई प्राथमिकतामा राख्नकालागि पहल गर्ने उहाँले बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुको अवस्था, स्याङ्जा अपाङ्ग समाज स्याङ्जासहित अपाङ्गताको विषयमा आधारभूत जानकारी आदान प्रदान गरिएको थियो ।
बैठकले बैंक तथा वित्तीय संस्थाका कार्यालय÷भवनलाई दीर्घकालिनरुपमा पूर्णरुपमा अपाङ्गतामैत्री बनाउँदै जाने, हाललाई सेवा प्रवाहलाई सहज बनाउने, सामाजिक उत्तरदायित्वतर्फ स्याङ्जा अपाङ्ग समाज र स्थानीय पैरवी समूहसँग संस्थागतरुपमा समन्वय गरी कार्यक्रम सञ्चालन गर्ने, स्याङ्जा अपाङ्ग समाजसँग समन्वय गरी अपाङ्गता भएका ब्यक्तिहरुलाई मात्र लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्ने, आगामी दिनमा पनि छलफल तथा अन्तरक्रियात्मक कार्यक्रमहरुलाई निरन्तरता दिंदै जाने प्रतिवद्धता भएको नगरस्तरीय पैरवी समूहका फोकल पर्सन युवराज पराजुलीले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा फोकल पर्सन पराजुलीले कार्यक्रममाथि प्रकाश पार्नुकासाथै सहभागीबाट उठेका जिज्ञाशाहरुको सहजीकरण गर्नुभएको थियो ।