तोलाकान्त बगाले
वालिङ, १७ मङ्सिर ।
वालिङमा ३२ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका अवसरमा सहायक सामग्री वितरण गरिएको छ । दीगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धता अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यवद्धता भन्ने नाराका साथ अपाङ्गता भएका व्यक्तिहरुकालागि दिवसका अवसरमा सहायक सामग्री वितरण गरिएको हो । स्याङ्जा अपाङ्ग समाजको आयोजना, वालिङ नगरपालिकाको समन्वय र सामाजिक विकास कार्यालय स्याङ्जाको सहयोगमा आईतबार वालिङसहित भीरकोट, गल्याङ, चापाकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका गरी ५ पालिकाका अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा वालिङ नगर प्रमुख कृष्ण खांँणले जनप्रतिनिधिहरुले बोलेर भाषणमा नभई नतिजा देखिने गरी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । संविधानले निदृष्ट गरेका नागरिकका हकअधिकारको कार्यान्वयनकालागि नगरपालिका प्रतिवद्ध भएर अगाडि बढेको नगर प्रमुख खांँणको भनाई छ । अपाङ्गता भएका व्यक्तिहरुप्रतिको दृष्टिकोण सकारात्मक बनाउनुपर्ने भन्दै हरेक व्यक्तिमा रहेका प्रतिभाहरुको पहिचान गरी अपाङ्गता भएका व्यक्तिहरुलाई पनि थप सशक्त बनाउन सकिने उहाँको भनाई छ ।
कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह्रेले अपाङ्गता भएका व्यक्तिहरुलाई परनिर्भरता हटाई आत्मविश्वास वृद्धि गर्ने वातावरणको सिर्जना गर्नुपर्ने बताउनुभयो । कार्यालय, समाजलगायत हरेक संरचना निर्माण गर्दा अपाङ्गमैत्री बनाउनुपर्नेमा जोड दिँदै अपाङ्गताको सवालमा नगरपालिकाले नीति तथा कार्यक्रम नै बनाएर अगाडि बढेको उपप्रमुख तिवारीको भनाई छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, सामाजिक विकास कार्यालय स्याङ्जाका प्रमुख इश्वरीप्रसाद रेग्मी, वालिङ नगरपालिका सामाजिक विकास समिति संयोजक युगमाया पंगेनी, स्याङ्जा अपाङ्ग समाजका निवर्तमान अध्यक्ष युवराज पराजुली, दृष्टिविहीन हिराबहादुर गुरुङलगायतले बोल्नुभएको थियो । कार्यक्रम स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष राम शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत अपाङ्ग सञ्जाल वालिङका अध्यक्ष डेलबहादुर विकले गर्नुभएको थियो । कार्यक्रममा अपाङ्गता भएका ब्यक्तिहरुलाई निशुल्करुपमा सहायक सामग्रीहरु वितरण गरिएको थियो ।