सामूहिक राष्ट्रिय गान गाएर जनप्रतिनिधि र कर्मचारी कार्यकक्ष छिर्छन्

0
427
Google search engine

तोलाकान्त बगाले
वालिङ ५ कात्तिक ।
जब घडीमा १० बज्छ तब यहाँका कार्यालय सहयोगीले घण्टी बजाउँछन् । घण्टी बज्नासाथै बाटोमा आउँदै गरेका कर्मचारी तथा कार्यालयभित्र छिरिसकेका कर्मचारीहरु भुईतल्लामा झर्छन् । नगरपालिका कार्यालयमा आउने जनप्रतिनिधि (प्रमुख, उपप्रमुख) सहित प्रमुख प्रशासकीय अधिकृत लगायतका विभिन्न शाखामा कार्यरत कर्मचारीहरु लामबद्ध हुन्छन् । अनि राष्ट्रिय गान बज्न थाल्छ, सबैजना ठाडो शीर गरेर राष्ट्रिय गानमा सहभागी हुन्छन् । झण्डै तीन महिना अघिदेखि स्याङ्जाको भीरकोट नगरपालिकाको दैनिकी नै बनेको छ । प्रत्येक दिन आफ्ना नागरिकलाई सेवा प्रवाह गर्नुपूर्व राष्ट्रप्रति सम्मान गरेर मात्रै सुरुआत गरौं भन्ने मुख्य उद्देश्यसहित जनप्रतिनिधि र कर्मचारीहरुले सामूहिक राष्ट्रिय गान गर्दै आएको बताउनुहुन्छ नगर प्रमुख गोविन्दकुमार कर्माचार्य ।
“राष्ट्रप्रतिको सम्मान आफ्नो ठाउँमा राख्दै सुशासनयुक्त नगर बनाउनमा पनि यसले महत्वपूर्ण भूमिका खेलेको छ” उहाँले भन्नुभयो, “जनप्रतिनिधि तथा कर्मचारीहरुलाई समयको पालना गर्नमा पनि यसले नैतिक दवाव दिने गरेको छ ।”
नगरपालिकामा आउने कर्मचारीहरु, जनप्रतिनिधिहरु कार्यालय समयमै आउने, कार्यालयको पोशाक लगाए÷नलगाएको जानकारी हुने र कार्यालय सुरु हुनुपूर्व नै गर्नुपर्ने केही निर्देशनहरु भएका त्यहीँ दिन सकिने भएकाले यसको प्रभावकारिता बढ्दै गएको छ ।
कतिपय ठाउँहरुमा नागरिकहरुले सरकारी कर्मचारी तथा जनप्रतिनिधिहरुले समयको पालना गर्दैनन्, काममा ढिलासुस्ती हुन्छ भन्ने गरेको आरोपहरु आईरहेका बेला त्यसप्रति सजग हुँदै समयको पालना तथा सेवा प्रवाहलाई छिटो छरितो र चुस्त दुरुस्त बनाउन यसले सहयोग पुग्ने विश्वास उहाँको छ ।
जागिरको सिलसिलामा लामो अवधि र धेरै ठाउँबाट सेवा प्रवाह गरेपनि अहिलेसम्म यसप्रकारको फरक र नमुना अभ्यास भीरकोटमा देखेको प्रमुख प्रशासकीय अधिकृत धर्मराज बताउनुहुन्छ ।
“विशेष गरी नगर प्रमुख, उपप्रमुखसहित सबै कर्मचारी प्रत्येक दिन कार्यालय समय सुरु हुने बेला सामूहिकरुपमा राष्ट्रगानमा सहभागी हुन्छौं” उहाँले भन्नुभयो, “केही नयाँ विषयकाबारेमा जानकारी दिनपर्ने भए त्यहीँ दिन्छौं र आ–आफ्नो शाखातिर लाग्छौं ।”
कार्यालय खुलेको सुरुआतमै केही सल्लाह, सुझाव तथा निर्देशनहरु नगर प्रमुख, उपप्रमुखले प्रार्थना स्थलमै दिने भएकाले फेरि शाखागतरुपमा कर्मचारीहरुलाई थप छलफलकालागि बोलाउनु नपर्ने भएकाले सेवाग्राहीलाई छिटो र छरितो सेवा दिन सकिने भएको हो ।

Google search engine
Google search engine