पहिलाको जस्तो रौनक छैन बडादशैंमा

0
116
Google search engine

तोलाकान्त बगाले
वालिङ ४ कात्तिक ।
नेपालीहरुको महान चाड बडादशैंको छैठौं दिन भईसक्दा पनि गाउँघरमा रौनकता देखिंदैन । एकवर्षको लामो पर्खाईपछि आउने बडादशैंमा आँफूभन्दा ठूला मान्यजनको हातबाट टीका जमरा लगाई आशिर्वाद लिईने बडादशैं नजिकिंदै गर्दा पनि गाउँघर सुनसान जस्तै देखिन्छन् ।
गाउँघरमा बुढापाकाहरुमात्रै बस्ने र छोराछोरीहरु विदेश तथा बजार पसेकाकारण पनि गाउँघरहरु सुनसान जस्तै बनेका हुन् । घर आँगन लिपपोत गर्ने, बाटो सरसफाई गर्ने, काठहरु काटेर चर्खे पिङ हाल्ने, खर काटी बाटेर लिङ्गे पिङ बनाउने चलन हराउँदै गएका हुन् ।
बिहानै उठेर ढिंकी जाँतोमा चामलको पिठो कुटेर गाउँघरमा आलोपालो सेल, अर्सा, फिनी लगायतका रोटीहरु बनाउने चलन पनि बढ्दो आधुनिकतासँगै हराउँदै गएको हो ।
युवा युवतीहरु भेला भई खरबारीमा गएर बाबियो काटेर ल्याउने र त्यसलाई बाटेर लिङ्गे पिङ बनाउने गरिएकोमा अचेल पिङ नै हाल्न छाडिएको वालिङ ८ का रोमाकान्त सुवेदीले बताउनुभयो ।
“हामी युवा हुँदा खर काटेर लिङ्गे पिङ बनाउने र त्यो पिङ तिहारसम्म नै रहने गथ्र्यो” उहाँले भन्नुभयो, “अचेल हामीले सक्न छाडियो गाउँमा युवा छैनन्, भएकालाई पनि खर काट्ने, पिङ बाट्ने ढंग छैन ।”
बडादशैंका बेला विदेश भएकाहरु बिदा मिलाएर घटस्थापनाभन्दा पहिले नै घर आउथें । घरको सरसफाई, रंगरोगन, बाटो घाटो सरसफाई गर्ने प्रचलन थियो अहिले त्यस्तो देख्न छाडेको उहाँ बताउनुहुन्छ ।
आँफूभन्दा ठुलाबडाबाट निधारभरी राता अक्षता र शीरमा पहेंला जमरा लगाएर आफन्तकोमा आशिर्वाद थाप्न घण्टौं हिंड्ने गरेको उहाँ सम्झनुहुन्छ ।

Google search engine

जति दशैंको महत्व पहिला थियो अहिले त्यस्तो महत्व र रौनकता हराउँदै गएको दावी उहाँको छ ।
दशैं लाएपछि घर लिपपोत गर्नकालागि सेतो माटो कमेरो र रातो माटो गेरु लिन गाउँका महिला पुरुषहरु जम्मा भएर लिन जाने चलन रहेको बताउनुहुन्छ वालिङ ८ की सावित्रा पराजुली बगाले ।
“दशैंको बेला घर लिपपोत गर्नकालागि झण्डै २ घण्टा पर रहेको ठाउँमा माटो लिन जानुपथ्र्यो” उहाँले भन्नुभयो, “अहिले ढुंगा माटाका पुराना घरहरु हुन पनि छाडे बढ्दो आधुनिकतासँगै पक्की घरहरु बन्दै जाँदा माटो खन्ने र लिपपोत गर्ने चलन हराउँदै गयो ।”
युवा युवतीहरु अध्ययन तथा रोजगारीकालागि विदेश वा देशका अन्य शहरहरुमा गएका कारण पनि गाउँमा युवायुवती नहुँदा रौनकतामा कमी भएको उहाँको बुझाई छ । गाउँमा बूढापाकाहरुमात्रै हुँदा सामूहिक काम गर्न जनशक्ति नजुट्ने समस्याकाकारण त्यस्तो उल्लास हुन नसकेको हो ।
अहिलेका नयाँ पुस्तालाई हाम्रा पालामा गर्ने क्रियाकलापहरु सुनाउँदा अनौठो मानेर सुन्ने गरेको अनुभव उहाँको छ । गाउँमा रहेका सबै घरहरु सेतो, रातो, पहेलो रंगको माटोले पोतेर चिटिक्क पार्दा साँच्चै मन नै लोभिन्थ्यो । मन खुसीले गदगद हुन्थ्यो । दशैं आएको संकेत त्यहाँबाट पनि हुन्थ्यो । “घर, आँगन, लिप्ने पोत्ने, डिल लगाएर सजाउनमा फुर्सदै हुदैनथ्यो” उहाँले भन्नुभयो, “अहिले त पक्की घर बनायो एकपटक पोतेपछि वर्षौंलाई हुन्छ सहज त भयो तर पहिला जस्तो दशैं आएको रौनकता तथा सङ्केत भने पाउनै छाडियो ।”

Google search engine