मिर्मी बजारमा अनुगमन, अखाद्य वस्तु र पेय पदार्थ नष्ट

0
87
Google search engine

गल्याङ, ११ असोज ।
नेपालीहरुको महान चार्ड विजयादशमी तथा दिपावली र छठ लगायतका पर्वहरु नजिकिएसंगै जिल्ला प्रशासन कार्यालय स्याङ्जाले स्याङ्जा जिल्ला भित्रका मुख्य व्यापारिक केन्द्रहरुमा अनुगमनलाई तिब्रता दिएको छ । प्रशासनले बिहीबार स्याङ्जाको कालीगण्डकी गाउँपालिका वडा नं.७ मिर्मीस्थित मिर्मी बजार अनुगमन गरेको हो ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आयोजना र कालीगण्डकी गाउँपालिकाको व्यवस्थापनमा जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक दीपक पौडेलको नेतृत्वमा गएको टोलीले मिर्मी बजार अनुगमन गरेको हो । अनुगमनका क्रममा १० बोरा चामल विगत १ वर्ष अगाडिदेखि मिति सकिएका रु. एकहजार ५०० प्रति बोरा पर्ने २० किलो चामल र २ क्रेट कोक २ वर्ष अगाडिदेखि उपभोग्य मिति सकिएका पेयपदार्थ खाल्टो खनेर नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले जनाएको छ ।
केही पसलहरु विना दर्ता सञ्चालन गरिएको केही पसलहरु नवीकरण नगरिएका र अनुगमन गएको थाहा पाएपछि केही पसलहरुले सटर बन्द गरेको समेत जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाको यस भन्दा अगाडि पनि बैशाख महिनामा अनुगमन गरेको र अहिले पुनः अनुगमन गरिएको र त्यसमा केही पसलहरुलाई सम्झाई बुझाई गरेर छाडियो ।
अनुगमन कार्यमा उपभोक्ता मञ्च स्याङ्जाका अध्यक्ष राजेन्द्र मरासिनी, जिल्ला प्रशासन कार्यालय स्याङ्जाका लेखा अधिकृत प्रेमनारायण अर्याल, कालीगण्डकी गाउँपालिका वडा नं.७ का वडाअध्यक्ष ओमप्रकाश भट्टराई, मिर्मी बजार व्यवस्थापन समितिका अध्यक्ष ज्ञानप्रसाद भट्टराई, सुरक्षाकर्मी, पत्रकार, स्थानीय लगायतको रोहवरमा अनुगमन भएको हो ।

Google search engine
Google search engine