राजनीतिक गतिविधिमा संलग्न नहुन शिक्षक तथा कर्मचारीलाई निर्देशन

0
108
Google search engine

तोलाकान्त बगाले
वालिङ ३१ भदौ ।
स्याङ्जाको वालिङ नगरपालिकाले राजनीतिक गतिविधिमा संलग्न नहुनकालागि शिक्षक तथा कर्मचारीहरुलाई निर्देशन गरेको छ । नगरपालिकाले आईतबार सूचना जारी गर्दै शिक्षक तथा निजामति कर्मचारीहरुलार्य कुनैपनि राजनीतिक कार्यक्रमहरुमा संलग्न नहुन निर्देशन गरेको हो । शिक्षा ऐन २०२८ को दफा १६ को उपदफा (ङ) को ५ (छ) तथा वालिङ नगरपालिकाको स्थानीय शिक्षा ऐन २०७४ (संशोधनसहित) को दफा १८ को उपदफा १ (च) मा विद्यालय तहमा कार्यरत शिक्षक तथा कर्मचारी, निजामति सेवा ऐनको दफा ४४ मा निजामति कर्मचारीले कुनै राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने ब्यवस्था भएकोले त्यसैको कार्यान्वयनकालागि निर्देशन गरिएको नगर प्रमुख कृष्ण खाँणले बताउनुभयो ।
“ऐनमा ब्यवस्था भए बमोजिम नगरभित्रका शिक्षक तथा निजामति कर्मचारीहरुलाई कार्यालय समयमा कुनै पनि राजनीतिक गतिविधिहरुमा संलग्न नहुन जानकारी गराएका छौं” उहाँले भन्नुभयो, “ऐनको पूर्णरुपमा कार्यान्वयन गर्न र कार्यान्वयन नगरेको खण्डमा ऐन अनुसार कारवाही पनि गर्छौं ।” नगर कार्यपालिकाको यही भदौ २६ गते बसेको बैठकले ऐनमा उल्लेख भए अनुसार शिक्षक तथा कर्मचारीहरु कार्यालय समयमा राजनीतिक गतिविधिहरुमा संलग्न नहुन बनेको ऐनको कार्यान्वयनमा जोड दिएको उहाँले बताउनुभयो । नगरपालिकाका कर्मचारीहरु तथा सामुदायिक विद्यालयका शिक्षकहरु राजनीतिक कार्यक्रमहरुमा सहभागी हुँदा कार्यसम्पादन तथा शैक्षिक गुणस्तर कमजोर भएको गुनासो नागरिकहरुले गर्दै आएका छन् ।

Google search engine
Google search engine