१ असोज ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति स्याङ्जाले सर्वमान्य नेता लौहपुरुष गणेशमान सिंह श्रेष्ठको २६ औं स्मृतिदिवस पारेर बिचार गोष्ठी सहित अन्तरक्रिया गरेको छ । बिचार गोष्ठीको उदघाटन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठले गणेशमानका योगदानको चर्चा गर्नुभयो । सत्ता र शक्ति भन्दा बाहिर बसेर जनताका सेवामा समर्पित सिंह उदार नेता भएको स्मरण गर्नुभयो । आफुलाई प्राप्त भएको प्रधानमन्त्री जस्तो पद पनि आफना सहकर्मी नेता कृष्णप्रसाद भट्टराईलाई दिएर सर्बमान्य नेता बन्नुभएको उहाले भन्नुभयो ।
वीपी कोइराला, सुवर्ण शम्शेर, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय जस्ता नेताहरुको त्याग र वलिदानीले कांग्रेसको गरिमा उचो बनाएको उहाले भन्नुभयो । कार्यक्रममा गण्डकी प्रदेश सांसद महेश भट्टराई , निवर्तमान सांसद भागवतप्रकाश मल्ल, नेपाली कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति बुद्धिबहादुर राना कुमार, उपसभापति शेरबहादुर थापा, महासमिति सदस्यहरु छायाराम खनाल, बिष्णुप्रसाद पौडेल, तारा मल्ल, क्षेत्रीय सभापति दिलिपप्रसाद खाँण, आधीखोला गाउपालिका अध्यक्ष नगेन्द्रप्रसाद पौडेल, भीरकोट नगरसभापति लक्ष्मण अधिकारी, तरुण दलका जिल्ला उपसभापति रविन केसी, नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य सुनिल चापागाई लगायतले गणेशमान सिंह श्रेष्ठले देखाएको बाटोको अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो । नेपाली कांग्रेसका जिल्ला सभापति राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रमका सचिव गुरुप्रसाद भट्टराईले स्वागत एवं सचिव दामोदर लम्सालले संचालन गर्नुभएको थियो ।