उत्पादन प्रवद्र्धनकालागि साप्ताहिक कृषि हाट बजार सञ्चालन

0
107
Google search engine

तोलाकान्त बगाले
वालिङ, ३० भदौ ।
स्याङ्जाको फेदीखोला गाउँपालिका १ सर्केटारीमा साप्ताहिक कृषि हाटबजार सञ्चालनमा आएको छ । फेदीखोला साना किसान कृषि सहकारी संस्थाले फेखीखोलाका साना किसान तथा लघु उद्यमीहरुको उत्पादन प्रवद्र्धनकालागि प्रत्येक शनिबार हाटबजार सञ्चालन गरेको हो । किसानले उत्पादन गरेका विभिन्न प्रकारका तरकारी, फलफूल, माछामासु लगायतका उत्पादनहरु कृषि हाटबजारमा ल्याएर बिक्री वितरण गर्ने ब्यवस्था मिलाईएको सहकारीका अध्यक्ष नेत्र कार्कीले बताउनुभयो ।
“किसानले उत्पादन गरेका बस्तुहरुको बजारीकरणमा सहयोग पु¥याउने उद्देश्यले हाट बजार सञ्चालन गरेका हौं” उहाँले भन्नुभयो, “हिजोबाट हाटबजार सञ्चालनमा आएसँगै स्थानीय कृषकहरु उत्साहित हुनुहुन्छ ।” सिद्धार्थ राजमार्गको छेउमै सञ्चालन भएको हाटबजारबाट स्याङ्जा पोखरा आवतजावत गर्ने यात्रुहरुले बढीमात्रामा खरिद गर्ने गरेका छन् ।
“बाटोमा हिड्ने यात्रुहरुले सवारी साधन रोकेर हाटबजारमा रहेका आँफूलाई आवश्यक पर्ने कृषि तथा पशुजन्य सामग्रीहरु लैजानुभयो” उहाँले भन्नुभयो, “जसले गर्दा कृषकले बजार खोज्दै हिड्नुपर्ने अवस्था नभई सहजरुपमा बिक्री भयो, आशा छ आगामी दिनमा किसानहरुले अझै उत्पादन बढाउँदै लैजानुहुनेछ ।” प्रत्येक शनिबार सञ्चालन हुने कृषि हाटबजारलाई ब्यवस्थित र नियमितरुपमा अगाडि बढाउने उहाँ बताउनुहुन्छ । प्रत्येक शनिबार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म कृषकले उत्पादन गरेका बस्तु तथा उत्पादित सामग्रीहरुको खरिद बिक्री हुन्छ ।

Google search engine

स्थानीय उत्पादनलाई एकैठाउँबाट खरिद बिक्री गर्नकालागि हाट बजार सञ्चालनमा आएको फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताउनुभयो । “यहाँका कृषकहरुलाई प्रोत्साहन गर्न गाउँपालिकाले उत्पादनमा आधारित बस्तुमा १५ प्रतिशत नगद अनुदान दिन्छौं” उहाँले भन्नुभयो, “जसले गर्दा कृषकहरुले उत्पादनमा जोड दिनुभएको छ भने उत्पादित बस्तुको सहज बजारीकरणमा ध्यान दिंदै साप्ताहिक हाटबजार सञ्चालनमा आएको हो ।”
गाउँपालिकाले २६ वटा तरकारी बालीको समर्थन मुल्य निर्धारण गरिदिएको छ । गाउँ गाउँमा कृषकले उत्पादन गरेको कृषिजन्य वस्तुको बजारीकरणकालागि ढुवानीमासमेत सहयोग गर्दै आएको उहाँले बताउनुभयो । “सडककै छेउमा रहेकाले पनि पहिलो दिन नै राम्रो बिक्री भएको छ” उहाँले भन्नुभयो, “यो राम्रो सुरुआत हो यसको ब्यवस्थापन र निरन्तरताका विषयमा थप जोड दिन्छौं ।”
हाटबजारमा कृषकले उत्पादन गरेका कृषिजन्य तथा पशुजन्य उत्पादन बिक्री गर्न पाउने र आँफूलाई आवश्यक परेका औजार, उपकरणहरु खरिद गर्न पाउने गरी ब्यवस्थापन गरिएको छ ।

Google search engine