वालिङ, २७ भदौ ।
वालिङ नगर प्रमुख कृष्ण खाँणले वालिङलाई अपाङ्गमैत्री नगर घोषणा गर्ने गरी काम थालनी गरिएको बताउनुभएको छ । आफ्नो कार्यकालमा वालिङलाई अपाङ्गमैत्री नगर घोषणा गर्ने भन्दै यसका लागि जनप्रतिनिधि र अपाङ्गताकालागि संगठित संघसंस्था मात्रै भएर नपुग्ने भन्दै आम नागरिक, बुद्धिजिवी, नागरिक समाज, पत्रकारलगायत सम्पूर्णको साथ र सहयोग आवश्यक रहने बताउनुभयो । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल र द एशिया फाउण्डेशनको सहयोगमा स्थानीय सरकार सवलीकरण परियोजना अन्तर्गत स्याङ्जा अपाङ्ग समाजको साझेदारीमा वालिङमा सञ्चालित अपाङ्गता समावेशी विकास कार्यक्रम अन्तर्गत बुधबार पत्रकार र जनप्रतिनिधिबीच अपाङ्गताका क्षेत्रमा वालिङमा अहिलेसम्म भए गरेका प्रगति विवरण सार्वजानिक कार्यक्रममा नगर प्रमुख खांँणले यस्तो बताउनुभएको हो ।
अपाङ्गताका क्षेत्रमा महशुस हुने गरी काम गर्ने उहाँले बताउनुभयो । “अपाङ्गमैत्री नगरका लागि आवश्यक बजेट नीति तथा कार्यक्रम बनाएर हामी अगाडि बढ्छौं” उहाँले भन्नुभयो, “बजेटमा गर्नुपर्ने काम, शुन्य बजेटमा पनि हुन सक्ने कामहरु वर्गीकरण गरेर प्राथमिकताको आधारमा बजेट विनियोजन गरी हामीले नगरलाई अपाङ्गमैत्री बनाउने योजनामा अगाडि बढेका छौं ।” सरकारको मात्रै मुख ताक्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने भन्दै हरेक विकास निर्माण र नगर वडालाई समृद्ध बनाउनका लागि साझा एजेण्डाहरु लिएर अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा उपप्रमुख कविता तिवारी गैह«ेले वालिङ नगरपालिकाले अपाङ्गताका क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो । उहाँले नगरपालिकाले नीति, कार्यक्रम तथा बजेटमा अपाङ्गतालाई सम्बोधन गरिएको र यसलाई निरन्तरता दिंदै अपाङ्गमैत्री वालिङ बनाउने अभियानसहित अगाडि बढेको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देलले अपाङ्गता भएका व्यक्तिहरुको क्षमता विकासका लागि र उहाँहरुको दैनिक जीवनलाई सहज बनाउन राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा स्याङ्जा अपाङ्ग समाजका निवर्तमान अध्यक्ष एवं वालिङ नगरपालिकास्तरीय अपाङ्ग पैरवी समूहका फोकल पर्सन युवराज पराजुलीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रम स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष राम शर्मा पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।
स्थानीय तहमा अपाङ्गता समावेशी विकास कार्यक्रम अन्तर्गत वालिङमा पैरवी समूह गठन गरिएसँगै अपाङ्गता सम्बन्धीका गतिविधिहरुमा क्रियाशील रहेको, समूहको आन्तरिक तथा सरोकारवाला पक्षहरुसँग अभिमुखीकरण कार्यक्रमहरु भईरहेको सन्दर्भमा बुधबार पत्रकार र जनप्रतिनिधिसंँग छलफल गरिएको स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष राम शर्मा पोख्रेलले बताउनुभयो । यो कार्यक्रम सञ्चालन भएपछि सकारात्मक प्रभाव देखिएको कार्यक्रममा जानकारी गराईएको थियो ।
वालिङका जनप्रतिनिधि, शाखा प्रमुखहरु तथा बजारहरुमा समेत अपाङ्गता भएका व्यक्तिहरुलाई गर्ने व्यवहारमा सकारात्मक प्रभाव देखिएको स्याङ्जा अपाङ्ग समाजका निवर्तमान अध्यक्ष एवं पैरवी समूहका फोकल पर्सन युवराज पराजुलीले प्रस्तुत गर्नुभएको प्रतिवदेनमार्फत जानकारी दिईएको थियो । यस कार्यक्रमले अपाङ्गता भएकाहरुको क्षमता विकास भएको, आफ्ना कुराहरु व्यक्त गर्न सक्ने भएको समेत फोकल पर्सन पराजुलीले बताउनुभयो । २०७८ को जनगणना अनुसार वालिङमा विभिन्न प्रकारका एकहजार २८१ अपाङ्गता भएकाहरु रहेको तथ्याङ्क छ ।
परियोजनामार्फत नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरु तथा कार्यपालिका सदस्यहरु, यातायात ब्यवसायी, उद्योगी तथा ब्यापारी, वालिङ नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु, माध्यमिक विद्यालयका प्रधानाध्यापकहरु, स्वास्थ्य संस्थाका प्रमुखहरु लगायत विभिन्न पक्षहरुसँग अभिमुखीकरण कार्यक्रम गरेको थियो ।
कार्यक्रममा नगरपालिकाले सूचना प्रविधिको प्रयोग गरेर नगरपालिकालाई अपाङ्गतामैत्री बनाउन टेवा पुग्ने खालका कार्यक्रमहरु गरेको भन्दै समाजले नगरपालिकाको सूचना तथा प्रविधि शाखालाई सम्मान स्वरुप सम्मान पत्र प्रदान गरेको छ । सम्मान पत्र ग्रहण गर्नुहुँदै शाखा प्रमुख ईञ्जिनियर प्रकाश अर्यालले अपाङ्गताका क्षेत्रमा नगरपालिकाले सूचना प्रविधिका क्षेत्रमा राम्रा र उदाहरणीय कार्यहरु गरेको दावी गर्नुभयो । उहाँले अपाङ्गतामैत्री डिजिटल नागरिक बडापत्र, श्रब्यदृश्य तथा साङ्केतिक भाषासहितको नागरिब बडापत्र तयार गरी सञ्चालनमा ल्याईएको बताउनुभयो ।