वालिङ २७ भदौ ।
स्याङ्जाको भीरकोट नगरपालिका ३ भतेरपाटामा अवस्थित ‘देउपूजे ढुङ्गा’ प्रचार प्रसारको अभावमा ओझेलमा छ । धार्मिक, ऐतिहासिक एवं पर्यटकीय दृष्टिले प्रचूर संभावना रहँदा रहँदै पनि प्रचार प्रसार नहुँदा यसको महत्व ओझेलमा परेको हो । देउपूजे ढुङ्गालाई शिवलिङ्गको स्वरुप मानी सतबीज छर्ने गरिएको छ । यहाँ शतबीज छर्नाले पितृमुक्त, पितृ उद्दार तथा भाकल पूरा हुने जनविश्वास रही आएको देउपूजे ढुङ्गा पूजा समितिका सदस्य राजकुमार श्रेष्ठले बताउनुभयो ।
यस स्थानमा वर्षा भएन भने स्थानीय मिलेर बाजागाजासहित यसै ढुङ्गाको माथिबाट सबैले गाग्रीमा पानी लगी माथिबाट तल बाजाको भोटेसोला भन्ने तालमा नाच्नेहरुलाई पानी खन्याएर पानी माग्न सुरु गर्ने चलन रहेको उहाँले बताउनुभयो । “परापूर्व कालमा यस ढुङ्गाको एउटा भागमा गाईको जस्तै थुन रहेको र त्यसबाट दूध आउने गथ्र्यो” उहाँले भन्नुभयो, “रजश्वला भएकी महिलाले भोकाएको आफ्नो बच्चालाई दूध खुवाउन उक्त थुन छोएपछि दूध आउनै बन्द भएको भन्ने किम्वदन्ती रहेको छ ।”
यस ठाउँमा हिन्दु धर्मावलम्बीहरुले देवी र शिवलिङ्गकारुपमा तथा बौद्धमार्गीहरुले यसै स्थानमा आफ्नै विधि अनुसार पूजा आरधना गर्दै आएका छन् । धार्मिक महत्वसँगै यो ठाउँ पर्यटकीय दृष्टिले पनि प्रचूर संभावना बोकेकाले यहाँ पूर्वाधारहरु निर्माण थालिएको वडा अध्यक्ष केशबहादुर खड्काले बताउनुभयो । “यस ठाउँलाई धार्मिक दृष्टिले शक्तिको केन्द्रकोरुपमा मानेर पूजा आजा हुने गरेको छ” उहाँले भन्नुभयो, “धार्मिक महत्वसँगसँगै यहाँ अध्ययन अवलोकन तथा बनभोज खानकालागि पनि मानिसहरु आउन थालेका छन् ।”
अग्लो स्थानमा भिरालो खालको चौरमा बालमैत्री पार्क निर्माणाधिन अवस्थामा छ । यहाँ आउने पर्यटकहरुलाई लक्षित गरी प्रतिक्षालय, कुर्सी, सिढी निर्माण, खानेपानीको ब्यवस्थापन गरिएको छ । वडा कार्यालयबाट थप संरचनाहरु निर्माणकालागि चालु आर्थिक वर्षकालागि रु. तीन लाख बजेट विनियोजन गरेको उहाँले बताउनुभयो । पालिकाभित्र विभिन्न ठाउँमा रहेका धार्मिक, पौराणिक, ऐतिहासिक, पर्यटकीय संरचनाहरुलाई संरक्षण गर्ने र प्रचार प्रसार गर्दै नगरपालिका अगाडि बढेको नगर प्रमुख गोविन्दकुमार कर्माचार्यले बताउनुभयो । “नगरभित्र रहेका हाम्रा धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पौराणिक महत्व बोकेका स्थलहरुकाबारेमा जानकारी दिनकालागि स्थानीय पाठ्यक्रममा समावेश गरेका छौं” प्रमुख कर्माचार्यले भन्नुभयो, “स्थानीय पाठ्यक्रमको प्रभावकैकारण पनि पालिकाभित्रका विभिन्न ठाउँहरुमा अहिले अध्ययन अवलोकन गर्न जानेको सङ्ख्या बढ्दै गएको छ ।”
भीरकोटको मुख्य बजार बयरघारीदेखि १० किलोमिटर उकालो ग्रामीण कच्ची सडक पार गरेपछि यस ठाउँमा पुग्न सकिन्छ । समुद्रसतहदेखि पन्ध्र सय फिटको उचाईमा यो ठाउँ रहेको छ । अग्लो ठाउँमा भएकाले पनि यहाँबाट माछापुच्छ«े, अन्नपूर्ण, धवलागिरी लगायतका हिमशृंखलाहरु मनमोहक देखिन्छन् । स्याङ्जासहित छिमेकी जिल्लाका विभिन्न ठाउँहरु यहाँबाट देखिने भएकाले पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बन्न सक्ने देखिएको हो । उक्त ढुङ्गाको गोलाई करिव २५ मिटर र उचाई करिव १५ मिटर रहेको छ ।