वालिङ, २८ भदौ ।
गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले विदेशमा गएकाहरुलाई स्वदेश फर्काउने अभियानमा लाग्ने बताउनुभएको छ । बिहीबार वालिङस्थित पतञ्जली योगपीठमा नेपाल महिला संघ वालिङ नगर समितिद्वारा आयोजित तीज विशेष दर खाने कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तिवारीले यस्तो बताउनुभएको हो । पछिल्लो समय विदेश पलायनको क्रम बढ्दो अवस्थामा रहेको भन्दै यो क्रमलाई रोक्न र विदेशमा रहनुभएका युवाहरुलाई स्वदेशमै फर्काएर स्वदेशमै रोजगार सिर्जना गर्नकालागि गण्डकी प्रदेश सरकारले उद्यमी लक्षित कार्यक्रमहरु अगाडि ल्याएको मन्त्री तिवारीले बताउनुभयो । मन्त्री तिवारीले एक घर एक धारा अभियानलाई प्राथमिकताका साथ सरकारले सञ्चालन गर्ने र भन्दै आफ्नो जन्मथलो वालिङमा पानीको लागि समय खर्चनुपर्ने अवस्थाको अन्त्य गर्ने बताउनुभयो ।
आफ्नो कार्यकालमा महत्वपूर्ण योजनाहरु अगाडि बढेको भन्दै मन्त्री तिवारीले भन्नुभयो, “अहिले १०० भन्दा बढी लिफ्टिङ प्रविधिका खानेपानी योजना रहेका छन् र ती योजनाको विद्युत महशुल समेत प्रदेश सरकारले निशुल्क गरेको छ, किसानलाई सिँचाईको सुविधा, किशोरीकालागि पाठेघरको क्यान्सरबाट बच्न खोपको सुविधा, निमोनियाको खोपको सुविधालगायत धेरै महत्वपूर्ण कार्य यो कार्यकालमा भएको छ ।” महिला र पुरुष एक रथका दुई पाङ्ग्रा भएकाले महिलालाई अगाडि बढाउन घर परिवारबाटै उचित वातावरण सिर्जना गर्नुपर्ने मन्त्री तिवारीको भनाई छ ।
तीजको दर खाने कार्यक्रम भन्दा महिला दिदीबहिनीहरुको पीर मर्का र गुनासाहरु सुन्न यस्ता कार्यक्रमले टेवा पुग्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाली कांगे्रस गण्डकी प्रदेश सदस्य धु्रवप्रसाद शर्मा पंगेनी, नेपाली कांगे्रस क्षेत्र नंं.२ प्रदेश क का सभापति अर्जुनप्रसाद खनाल, नेपाली कांगे्रस वालिङ नगर सभापति नेत्रप्रसाद पाण्डे, महिला नेत्रृ गायत्री आचार्य, जिल्ला समन्वय समिति सदस्य सरस्वती बगाले, महिला नेत्रृ सुनिता उच्चै, वालिङ नगरपालिका कार्यपालिका सदस्य युगमाया पंगेनी, वालिङ उद्योग वाणिज्य संघ महिला उद्यमी विकास समिति अध्यक्ष मञ्जु केसी, आमा समूहकोतर्फबाट वालिङ ८ की कृष्णा थापा लगायतले बोल्नुभएको थियो । नेपाल महिला संघ नगर अध्यक्ष सरिता पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सीता थापाले र सञ्चालन सचिव शान्ता थापाले गर्नुभएको थियो ।