वालिङ, २२ भदौ ।
गण्डकी प्रदेशका उर्जा, जलश्रोत तथा खानेपानी मन्त्री सरस्वती अर्याल तिवारीले शैक्षिक क्षेत्रमा स्याङ्जा जिल्ला अगाडि रहनु गर्वको कुरा भएको बताउनुभएको छ । गल्याङ नगरपालिकाले ५७ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुक्रबार गल्याङमा आयोजना गरेको कार्यक्रममा बोल्नुहुँदै उहाँले स्याङ्जाको साक्षरता दर अगाडि रहेको र यसलाई जोगाई राख्नुपर्नेमा जोड दिनुभयो ।
“नेपालका जुनसुकै कार्यालयमा पुग्दा पनि स्याङ्जाका कर्मचारीहरु भेटिनुहुन्छ, यो गौरवको विषय हो” उहाँले भन्न्ुभयो, “बौद्धिक क्षमताले भरिपूर्ण शिक्षकहरुको अगाडि केही सिकाउन नभई आशिर्वाद लिन पाउनु खुसीको कुरा हो ।”
कार्यक्रममा नगर प्रमुख गुरुप्रसाद भट्टराईले अतिरिक्त क्रियाकलापको माध्यमबाट विद्यार्थीमा रहेको आन्तरिक प्रतिभा प्रष्फुटन गर्न नगरले उत्प्रेरित गर्दै जाने बताउनुभयो । उहाँले सकारात्मक सोंचले गरिएका हरेक कर्महरु सफल भएर जाने भएकाले सोंच नै सकारात्मक बनाउनुपर्नेमा जोड दिनुभयो । “हामीले जस्तो कर्म गर्छौं फल पनि त्यस्तै पाउँछौं” उहाँले भन्नुभयो, “असल कर्म र निरन्तरताले नै सभ्य समाज निर्माण हुने भएकोले त्यो दिशामा कर्तब्यनिष्ट भएर लाग्न अनुरोध गर्दछु ।”
कार्यक्रममा नगर उपप्रमुख हेमा न्यौपानेले सभ्य र संस्कारयुक्त समाज निर्माणकालागि सबैले आ–आफ्नो ठाउँबाट निरन्तर लाग्न आग्रह गर्नुभयो । “हामीले बालबालिकालाई जस्तो शिक्षा दिन्छौं भोलि त्यसैले निर्धारण गर्छ” उहाँले भन्नुभयो, “भविष्य कस्तो बनाउने भन्ने कुरा आज हामीले गरेका कार्यहरुमा निर्भर हुन्छ ।” नगरपालिकाको मात्रै प्रयासबाट लक्ष्य प्राप्त गर्न नसकिने भएकाले यसमा सबै नगरबासीको उत्तिकै साथ र सहयोग आवश्यक हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, शिक्षा शाखा प्रमुख केदारराज आचार्य, नगर शिक्षा समिति सदस्य द्रबेन्द्रदेव खनाल, शिक्षा शाखाका प्राविधिक सहायक हिमाल भण्डारीलगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
साक्षरता दिवसको सन्दर्भमा आयोजित नगर स्तरीय माध्यमिक तह हाजिरीजवाफ प्रतियोगिता, कविता लेखन तथा वाचन प्रतियोगिता, नृत्य प्रतियोगिता वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको थियो ।
दिवसकै सन्दर्भमा कक्षा ५ र ८ को उपलब्धीमापन परीक्षामा नगर प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थी, विद्यालय साथै उत्कृष्ट अङ्क ल्याएका विषय शिक्षक, प्रतियोगिताका विजेता, लामो समय शिक्षण पेशामा रहि अवकाश प्राप्त शिक्षक, बढुवा शिक्षक साथै आफ्नो पेशामा प्रतिवद्ध शिक्षक, कर्मचारी, शिशु सहयोगी कार्यकर्ता, विब्यस अध्यक्षहरु, गल्याङ र मालुङ्गा बहुमुखी क्याम्पसका उत्कृष्ट विद्यार्थीहरु, कर्मचारीलाई दोसल्ला, सम्मान पत्र र नगद पुरस्कार सहित सम्मान गरिएको थियो ।