टोलमै पुगेर वडाले गरिदियो सामाजिक सुरक्षा भत्ताको नवीकरण

0
70
Google search engine

तोलाकान्त बगाले
वालिङ, १४ भदौ ।
सेवाग्राहीको सहजताकालागि वडा कार्यालयले टोलमै पुगेर सामाजिक सुरक्षा भत्ताको नवीकरण गरिदिएको छ । स्याङ्जाको गल्याङ नगरपालिका ९ नं. वडा कार्यालयले वडाभित्रका विभिन्न टोल–टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ब्यक्तिहरुको नामावली नवीकरण गरिदिएको हो । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने ज्येष्ठ नागरिकहरु, अपाङ्गता भएका, भिन्न क्षमता भएका, दलित बालबालिकाहरुको पोषण कार्यक्रम तथा एकल महिलाहरुको चालु आर्थिक वर्ष २०८०÷०८१ कालागि नवीकरण गर्नुपर्ने भएकाले कर्मचारी टोल–टोलमै पुगेर सेवा दिईएको वडा अध्यक्ष नामदेव खनालले बताउनुभयो ।
“क्षेत्रफलका दृष्टिले ९ नं. वडा ठूलो हुनुकासाथै भौगोलिक विकटताले वडा कार्यालयसम्म सेवाग्राहीलाई आईपुग्न डेढदेखि दुई घण्टा लाग्छ” उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिक, अपाङ्गता भएका तथा बालबालिकाहरुले वडा कार्यालयमा आउन समस्या हुने भएकाले टोल–टोलमै पुगेर कार्ड नवीकरण गरिएको हो ।” ग्रामीण ईलाका भएकाले समयमा गाडी पाईदैन, हिंडेर आउन ज्येष्ठ नागरिक, बिरामी अनि अपाङ्गता भएकाहरुलाई सास्ती हुने ठानी घरदैलोबाटै चालु आर्थिक वर्षबाट सेवा दिन थालिएको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिकहरु, अपाङ्गता भएकाहरु वडा कार्यालयसम्म एक्लै आउन कठिन हुने र साथीको सहारामा आउनुपर्ने भएकाले उहाँहरुको सहजताकालागि टोलमै पुगेको उहाँले बताउनभुयो ।
कर्मचारीले आवश्यक पर्ने कागजातहरु, सेवाग्राहीको फोटोहरु समेत मोबाईलमै खिचेर ल्याई सफ्टवेयरमा भरेका हुन् । “वडामा चारसय ८० जनाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नुहुन्छ, जसमध्ये घुम्ति सेवाबाट दुईसय ५० जनाले सेवा लिएका छन्” उहाँले भन्नुभयो, “वडाको नजिकैका सेवाग्राहीले भने वडा कार्यालयबाटै नवीकरण गराईरहनुभएको छ ।” वडा कार्यालयमा आउन सक्नेहरुले वडा कार्यालयबाटै र नसक्नेहरुलाई लक्षित गरी वडाले अभियान सञ्चालन गरेको थियो । वडाले टोल–टोलमै आएर सामाजिक सुरक्षा भत्ता नवीकरण गरिदिएपछि लक्षित सेवाग्राहीलाई निक्कै सहजता भएको सोही वडाको साङ्लियाका उत्तम विकले बताउनुभयो ।
“८०–९० वर्षका वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई कार्ड नवीकरण गर्न वडा कार्यालयसम्म पुग्न एकदम कठिन छ” उहाँले भन्नुभयो, “उहाँहरु हिंडेर एक्लै जान सक्ने अवस्था नि छैन, भनेको समयमा गाडी पाईंदैन, रिजर्व गर्नुपर्छ, सेवाग्राहीलाई निक्कै महङ्गो पर्न जान्छ ।” साङ्लियाबाट टेक्रेमा रहेको वडा कार्यालयसम्म पुग्न पनि हिंड्न सक्ने मान्छेलाई डेढदेखि दुई घण्टा लाग्छ । हिंड्नै नसक्ने, अनि ज्येष्ठ नागरिकहरुलाई त अझै बढी समय लाग्ने उहाँले बताउनुभयो ।

Google search engine
Google search engine