तोलाकान्त बगाले
वालिङ, १५ भदौ ।
स्याङ्जाको भीरकोट नगरपालिका ८ नं. वडाले सुत्केरी भेटघाट अभियान थालेको छ । चालु आर्थिक वर्षको सुरुआतसँगै वडाले मातृशिशु स्वास्थ्यलाई ध्यानमा राख्दै वडाभित्रका सुत्केरी आमा तथा नवजात शिशुको पोषणकालागि कुखुराको भालेसहित सुत्केरी भेटघाट अभियान थालेको वडा अध्यक्ष नन्दलाल खनालले बताउनुभयो । वडाका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरुको टोलीले घरमै पुगेर सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाकाबारेमा जानकारी लिने गरेको छ ।
“सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य जाँच गर्नुकासाथै स्वास्थ्यसम्बन्धी परामर्श दिने गरिएको छ” उहाँले भन्नुभयो, “सुत्केरी आमाको पोषणमा ध्यान दिंदै कुखुराको भाले घरमै पुगेर उपलब्ध गराउँछौं ।” सुनौला हजार दिनको अवस्थालाई मध्यनजर गर्दै वडा कार्यालयले पोषणसम्बन्धी अभियान सञ्चालन गरेको हो । गर्भावस्थादेखि नियमित स्वास्थ्य जाँच गराउने, स्वास्थ्य संस्थामा सुत्केरी गराउने, नवजात शिशुको स्वास्थ्य जाँच गर्ने, नवजात शिशुलाई लगाउनुपर्ने खोपहरुकाबारेमा स्वास्थ्यकर्मीहरुले घरमै पुगेर परामर्श दिंदै आएका छन् ।
“गर्भावस्थादेखि सुत्केरी भईसकेपछि पनि महिलाहरुको स्वास्थ्य अवस्थाकाबारेमा विशेष ध्यान दिनुपर्छ” उहाँले भन्नुभयो, “जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरु घरमै पुगेर घर परिवारसँग परामर्श गरी सुत्केरी महिलाको पोषणमा ध्यान दिन सुझाव दिन्छौं ।” वडाले थालेको यो अभियान सानो देखिएतापनि यसले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य तथा पोषणमा महत्वपूर्ण सन्देश दिने दावी उहाँले गर्नुभयो ।
भीरकोट नगरपालिकाले गर्भ रहेको समयदेखि स्वास्थ्य संस्थामा गई नियमित स्वास्थ्य परीक्षण गराउने गर्भवती महिलाहरुलाई अण्डा वितरण गर्दै आएको छ । ८ नं. वडा कार्यालयले गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य, पोषणका विषयमा भाले कुखुरासहित घरमै पुगेर भेटघाट गर्ने अभियान थालेको हो ।