वालिङ नगरपालिका १२ द्वारा घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण

0
126
Google search engine

वालिङ
वालिङ नगरपालिका १२ नम्बर वडा कार्यालयले स्थानीय वासिन्दाको गाउँघरमै पुगेर सामाजिक सुरक्षा भत्ताको नवीकरण गरेको छ । वर्षात्को मौसम भएकोले सामाजिक सुरक्षा भत्ताका लाभग्राहीहरुलाई समस्या नहोस् भनेर वडाको सबै टोलमा पुगेर नवीकरण कार्य गरेको वडा कार्यालयले जनाएको छ ।
वडा कार्यालयमा जनप्रतिनिधि र कर्मचारीको बैठक बसेर सामाजिक सुरक्षा भत्ताको नवीकरणको लागि गाउँ टोलमै जाने निर्णय भएकोले सोही अनुसार जनप्रतिनिधि र कर्मचारीहरुले घर–घरमै पुगेर सामाजिक सुरक्षा भत्ता नवीकरण कार्य गरिएको वडा सचिव पदमप्रसाद पराजुलीले जानकारी दिनुभयो । १२ नम्बर वडा भित्र ६७५ को हाराहारीमा लाभग्राहीको संख्या रहेकोमा ५५० जना लाभग्राहीको नवीकरण गरिसकिएको वडा सचिव पराजुलीले बताउनुभयो । जेष्ठ नागरिक, शारीरिक रुपमा अशक्त नागरिकहरुलाई वडा कार्यालयमा आउन समस्या हने भएकोले घरमै पुगेर नविकरण कार्य गरिएको वडा कार्यालयले जनाएको छ।
राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागको सामाजिक सुरक्षा भत्ता वितरण ऐन अनुसार प्रत्येक आर्थिक वर्षको साउन १ गते देखि भदौ मसान्तसम्म नवीकरण गर्ने व्यवस्था छ । यसरी घरमै पुगेर वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता नवीकरण गरिदिएपछि लाभग्राहीहरु खुसी भएका छन् ।

Google search engine
Google search engine