गल्याङ चेम्बर अफ कमर्सको साधारणसभा तथा दोश्रो अधिबेशन शनिबार सम्पन्न भएको छ । २०७६ सालमा स्थापित गल्याङ चेम्बर अफ कमर्सको साधारणसभा तथा दोश्रो अबिधेशन शनिबार सकिएको हो । गल्याङ बजारमा रहेको नेवा समाजको भवनमा गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले अधिबेशनको उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा नगरप्रमुख भट्टराईले गल्याङलाई विकासको गति दिन स्थानीय सरकार लागि परेको बताउनुभयो । उहाँले स्याङ्जाको पिछडिएको क्षेत्रको रुपमा गल्याङ नगरपालिका रहेको भन्दै यसलाई उकास्न सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । नगरप्रमुख भट्टराईले गल्याङलाई जोड्ने मुख्य शाखा बाटोहरु आफ्नो कार्यकालसम्मा कालोपत्रे हुने विश्वास पनि व्यक्त गर्नुभयो । पुराना कामहरुलाई निरन्तरता दिदै विकासका लागि सबै एकाकार हुनुपर्ने भन्दै नगरप्रमुख भट्टराईले कृषि उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा निवर्तमान नगरप्रमुख भुपराज अधिकारीले सानो कामबाट विकासको काम थाल्नुपर्ने बताउनुभयो । आफ्नो कार्यकालमा भएको कामको स्मरण गर्दै उहाँले कृषि उत्पादनलाई नै जोड दिन चेम्बर अफ कमर्सलाई आग्रह गर्नुभयो । अधिकारीले गल्याङ क्षेत्रको हितका लागि उद्योग वाणिज्य संघ र चेम्बर मिलेर काम गर्न सुझाव दिनुभयो ।
कार्यक्रममा गल्याङ नगरपालिका वडा नम्बर ३ का अध्यक्ष कृष्ण प्रसाद भट्टराई, चेम्बर अफ कमर्स गण्डकी प्रदेशका उपाध्यक्ष श्रीप्रसाद गुरुङ, स्याङ्जा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मी, पाल्पा चेम्बर अफ कमर्सका अध्यक्ष बामदेब बस्याल लगायतले गल्याङ चेम्बरले चार वर्षको कार्यकालमा महत्वपूर्ण कामहरु गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।
यसैवीच, गल्याङ चेम्बर अफ कमर्सको साधारणसभा तथा दोश्रो अबिधेशनले बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाटको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत गठन गरेको छ । संस्थाको बरिष्ठ उपाध्यक्षमा रुमलाल कँडेल, प्रथम उपाध्यक्षमा कुमार श्रेष्ठ तथा उपाध्यक्षमा दलबहादुर सिंजाली चयन हुनुभएको छ । यसैगरी महासचिवमा हिमलाल भण्डारी, सचिवमा सुमित्रा खड्का, सहसचिवमा रमेशकुमार अधिकारी, कोषाध्यक्षमा कृष्णकुमारी राना र सहकोषाध्यक्षमा सुनिल विक चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा दुर्गाप्रसाद कर्माचार्य, दिपकप्रसाद अधिकारी, कमल रानाभाट, पुर्षोत्तम बस्याल, शम्भुनारायण अधिकारी, लालकुमारी गुरुङ, रजिन खान, शंकर श्रेष्ठ, गोपाल अधिकारी, जमुना थापा, सविता राना र शिव भट्टराई चयन हुनुभएको छ । संस्थाको निवर्तमान अध्यक्षमा गंगाप्रसाद श्रेष्ठ रहनुुभएको छ । यसअघि साधारणसभा तथा दोश्रो अधिवेशनमा अध्यक्ष गंगाप्रसाद श्रेष्ठले पेश गर्नुभएको अध्यक्षको प्रतिवेदन र कोषाध्यक्ष सुमित्रा खड्काले पेश गर्नुभएको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको छ ।