वालिङ, २८ साउन ।
नेपाल शिक्षक महासंघ वालिङले वालिङ नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । संघीय शिक्षा ऐनमा शिक्षक महासंघसंँग भएको सम्झौता नसमेटिएको भन्दै ज्ञापनपत्र सहित धर्ना कार्यक्रम गरेको हो । संघीय संसदमा पेश गरिएको विद्यालय शिक्षा विधेयक २०८० प्रति नेपाल शिक्षक महासंघले गम्भीर ध्यानाकर्षण भएको भन्दै त्यसले समस्त शिक्षा जगतमा निराशा र भविष्य अन्धकारतर्फ लगिएको ज्ञापनपत्रमा उल्लेख छ । उक्त विधेयकप्रति असहमति जनाउँदै २०८० को शिक्षा ऐन भन्दा उक्त विधेवयक प्रतिगामी भएको उल्लेख छ ।
नेपाल शिक्षक महासंघले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाईएको निश्चित बुँदाहरुको संशोधनको प्रतिलिपि सहित महासंघले वालिङ नगर प्रमुख कृष्ण खांँणलाई ज्ञापन पत्र बुझाएको हो ।
नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मी तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य यामबहादुर कुँवरको उपस्थितिमा नेपाल शिक्षक महासंघको केन्द्रीय समितिको निर्देशन बमोजिम वालिङमा पनि धर्ना कार्यक्रमसहित ज्ञापनपत्र बुझाएको हो । वालिङ सहित जिल्लाका ११ वटै पालिकामा ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराईएको हो । शिक्षा ऐनमा महासंघको मागहरु सम्बोधन हुनेगरी प्रस्तावित विधेयकमा आवश्यक संशोधन गर्न पालिकाले आवश्यक पहल, पैरवी र सहयोग गर्न अनुरोध गर्दै ज्ञापन पत्र बुझाईएको नेपाल शिक्षक संघका केन्द्रीय उपाध्यक्ष लक्ष्मीप्रसाद रेग्मीले बताउनुभयो ।
महासंघको माग सम्बोधन नभएमा जिल्ला, प्रदेश र केन्द्रीय तहमा केन्द्रित हुने भन्दै यो अभियानमा सहभागी हुन सम्पूर्ण शिक्षकहरुलाई आग्रह समेत गरेको छ । यदि माग सम्बोधन नभए विद्यालय बन्द नै गरेर काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन बाध्य हुने भन्दै त्यसबाट पर्ने असरप्रति स्वयं संघीय सरकार जिम्मेवार हुनुपर्ने, विद्यालय बन्दको क्षतिपूर्ति अन्य विदाको दिनहरुमा विद्यालय सञ्चालन गरेर पूरा गर्ने महासंघले जनाएको छ । बालबालिकाहरुको पढ्न पाउने अधिकारप्रति सदैव जिम्मेवार रहेको महासंघले जनाएको छ ।