प्रेम रेग्मी
चापाकोट, ८ साउन ।
चापाकोट नगरपालिकाको दूरदराजमा रहेको गाउँ जालिमडाँडा, जहाँ १५ घर परिवारमा खानेपानी बर्षौंदेखिको समस्याको रूपमा रहेको थियो । भौगोलिक विकटताका कारण १६ किलोमिटर टाढाबाट ल्याएको पानी बिग्रने र प्रत्येक दिन बनाउनका लागि ५ परिवारलाई पालो लगाईएको थियो जसका कारण ५ जनाको दैनिकी नै पानी बनाउन जानुपर्ने बाध्यता रहेको थियो । केही बर्ष अगाडिबाट सुरूवात भएको वडडाँडा पाङ्लुङ लिफ्टिङ खानेपानी आयोजना अन्तर्गत अहिले सम्म ८१ परिवारलाई खानेपानी पु¥याईसकेको खानेपानीका अध्यक्ष सूर्य पाठकले जानकारी दिनुभयो । उक्त लिफ्टिङ खानेपानी आयोजनाको सब लाईनको पानी जोडिएसँंगै जालिमडाँडाबासीको मुहारमा खुसी छाएको छ । स्थानीय जीता राना फेसबुकमा खुसी व्यक्त गर्दै लेख्नुहुन्छ “जालिमडाँडा, तीलडाँडा, कोलडाँडा टोलवासीकालागि खुसी अनि हर्षको दिन बनेको छ । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आइरहेका थियौं समस्या समाधान गरिदिनुहुने गण्डकी प्रदेशका पूर्व माननीय सांसद भागवतप्रकाश मल्ल, चापाकोट नगर प्रमुख देवबहादुर खाँण (ईश्वर), पूर्व वडा अध्यक्ष एकदेव भट्टराई, पाङ्लुङ बरडाँडा खानेपानीका अध्यक्ष सूर्य पाठक बिशेष धन्यवाद बरडाँडाबासी सम्पूर्णमा हार्दिक कृतज्ञता प्रकट गर्दछु ।” खानेपानीको धाराबाट पानी सुरूवात गर्नुहुँदै गण्डकी प्रदेश सभाका पूर्व सदस्य भागवतप्रकाश मल्लले खानेपानीबाट कोही पनि बञ्चित हुन नहुने भन्दै क्रमैसँंग एक घर एक धारा पिउने पानीको अवधारणा अनुरूप सबै घरमा पानीको सुविधाका लागि निरन्तर लाग्ने बताउनुभयो ।
उहाँको कार्यकालमा स्याङ्जा क्षेत्र नं. २ (२) अन्तर्गत २६ वटै वडामा कम्तिमा १ देखि ४ वटा खानेपानी तथा सिंञ्चाइका आयोजना सञ्चालनमा आएकोमा अहिले केही सम्पन्न भए पनि केही सम्पन्न हुने चरणमा रहेका छन् । कार्यक्रममा नगर प्रमुख देवबहादुर खाँणले चापाकोट बासीको प्रत्येक समस्यामा आँफु समाधानको पात्र बन्ने कुरामा विश्वस्त रहन सबैलाई आग्रह गर्नुभएको थियो ।