४१औँ विपि स्मृति दिवसका अवसरमा स्याङ्जामा विभिन्न कार्यक्रम गरिएको छ । नेपाली कांगे्रस जिल्ला कार्य समिति, विभिन्न पालिकास्तरीय समिति र पार्टीको भातृ संघ संगठनहरुले वृक्षारोपण सहित विभिन्न कार्यक्रम गरी विपी स्मृति दिवस मनाएका हुन् । यसैबीच विपी स्मृति दिवसका अवसरमा वालिङमा वृक्षारोपण गरिएको छ । नेपाली कांगे्रस वालिङ नगर समितिको आयोजनामा नेपाली कांगे्रसका संस्थापक नेता महामानव विश्वेश्वरप्रसाद कोईरालाको ४१औँ स्मृति दिवसका अवसरमा वालिङ ८ विपी चोकमा गोष्ठी तथा वृक्षारोपण गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सभा सांसद भोजराज अर्यालले महामानव विपी कोईरालाको नीति तथा सिद्धान्त आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउँदै यसको ब्यवहारिक प्रयोग आजको आवश्यकता छ भन्नुभयो ।
विपीको मेलमिलाप नीति अन्तर्राष्ट्रिय स्तरमा समेत कार्यान्वयन भएको भन्दै नेपाली कांगे्रसले विपीको सिद्धान्त भुल्न नहुँने भन्दै उहाँले मार्गनिर्देश गर्नुभएको बाटोमा नेपाली कांगेस अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश सांसद कल्पना तिवारी, कांग्रेस जिल्ला सचिव दामोदर लम्साल, स्याङ्जा क्षेत्र नं. २ का पूर्व क्षेत्रीय सभापति अर्जुनप्रकाश अर्याल, पूर्व जिल्ला कार्यवहाक सभापति मुक्तिप्रसाद सुवेदी, कांग्रेस नेता जीवलाल काफ्ले, वडा नं. ८ का सभापति कमलप्रसाद सुवेदीलगायतले बोल्नुभएको थियो । नगर सभापति नेत्रप्रसाद पाण्डेको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सीता थापाले र सञ्चालन सचिव सागर कुँवरले गर्नुभएको थियो । यसैबीच रेडियो आँधीखोला तथा सशस्त्र प्रहरी बलको कार्यालय पुग्ने सडक किनार र रेडियो परिसरमा समेत वृक्षारोपण गरिएको थियो ।
यसैबीच उता स्याङ्जामा पनि विपी स्मृति दिवसका अवसरमा विपीको शालिकमा माल्यार्पण तथा वृक्षारोपण गरिएको छ । नेपाली कांगे्रस स्याङ्जा जिल्ला कार्यसमितिको आयोजनामा गरिएको कार्यक्रममा स्याङ्जामा रहेको विपीको शालिकमा माल्यार्पण र पुतलीबजार नगरपालिका वडा नं.४ मा रहेको भालुपहाडमा वृक्षारोपण गरियो । कार्यक्रममा प्रतिनिधि सभा सांसद राजु थापाले महामानव विपी कोईरालाले प्रतिपादन गर्नुभएका नीति र सिद्धान्तलाई अवलम्बन गर्दै नेपाली कांगे्रस अगाडि बढ्नुपर्ने बताउनुभयो । सांसद थापाले नेपाली कांगे्रस पार्टी थप शसक्त र सुदृढ रुपमा अगाडि बढ्नुपर्ने भन्दै विपीको मेलमिलाप नीति र समाजवादलाई विर्सन नहुने बताउनुभयो ।
कार्यक्रममा पूर्व सांसद भागवतप्रकाश मल्ल, कांग्रेस गण्डकी प्रदेश सदस्य अजित क्षेत्री, महासमिति सदस्य तारा मल्ल, तरुण दल केन्द्रीय सदस्य जगदिश खांँण, क्षेत्रीय सभापति तुल्सी रेग्मी, कुमबहादुर गुरुङ, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मालगायतले बोल्नुभएको थियो । कार्यवहाक सभापति केदार काफ्लेको सभापतित्वमा सम्पन्न कार्यक्रम स्वागत वडा नंं ४ का सभापति इश्वरीप्रसाद पोख्रेलले र सञ्चालन जिल्ला सहसचिव धु्रवबन्धु पौडेलले गर्नुभएको थियो ।
त्यस्तै भीरकोटमा विपी स्मृति दिवसका अवसरमा रक्तदान कार्यक्रम गरिएको छ । नेपाल तरुण दल भीरकोट नगर समितिको आयोजना र तरुण दल जिल्ला कार्यसमितिको समन्वयमा बयरघारीमा रक्तदान कार्यक्रम सहित नेपाल दरुण दल केन्द्रीय सदस्यमा मनोनित सदस्यहरुलाई सम्मान गरिएको छ । कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले तरुण दल पार्टीको मेरुदण्ड भएको भन्दै तरुणदलले विपी स्मृति दिवसका अवसरमा रक्तदान कार्यक्रम गर्नु निकै सह«ानीय रहेको बताउनुभयो । नगर प्रमुख कर्माचार्यले विपीको सिद्धान्त भुल्न नहुने भन्दै पार्टीले उहाँका हरेक सिद्धान्तलाई आत्मसाथ गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाली कांगे्रस जिल्ला कार्यवहाक सभापति केदार काफ्ले, तरुण दलका जिल्ला अध्यक्ष भागवतप्रकाश मल्ललगायतले बोल्नुभएको थियो । कार्यक्रम तरुण दलका नगर अध्यक्ष राजकुमार गुरुङको सभापतित्वमा सम्पन्न भएको थियो भने सञ्चालन प्रविणविक्रम खांँणले गर्नुभएको थियो । रक्तदान कार्यक्रममा १२ महिला र ४८ पुरुष गरी ६० जनाले रक्तदान गरेका थिए । गल्याङ, चापाकोट लगायत जिल्लाभर पालिकास्तरीय कार्यक्रमहरु सम्पन्न भएका थिए ।