वालिङ, २ साउन ।
छुट्टाछुट्टै दुई मुद्दामा कैद सजाय तोकिई फरार रहेका दुई प्रतिवादीहरु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी पदमराज थापाका अनुसार सवारी ज्यान मुद्दा र कर्तब्य ज्यान मुद्दाका दुई फरार प्रतिवादीहरुलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो । पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा कैद सजाय तोकिएका स्याङ्जाको बिरुवा गाउँपालिका ४ बस्ने ५४ वर्षीय दुर्गबहादुर गुरुङ र कर्तब्य ज्यान मुद्दामा कैद सजाय तोकिएकी भीरकोट नगरपालिका ७ बस्ने ४३ वर्षीया जमुना अर्याल रहेका छन् । सवारी ज्यान मुद्दामा गुरुङलाई स्याङ्जा जिल्ला अदालतले एक वर्ष ११ महिना ९ दिन कैद सजाय तोकेको छ । कर्तब्य ज्यान मुद्दाकी अर्याललाई चार वर्ष ११ महिना १० दिन कैद सजाय तोकिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी थापाले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीकालागि स्याङ्जा जिल्ला अदालतसमक्ष पेश गरिएको छ ।