वालिङ, २ साउन ।
स्याङ्जामा असारको अन्तिमसम्म ५० प्रतिशत क्षेत्रफलमा धान रोपाई सकिएको छ । स्याङ्जाका उत्तरी भेगका पालिकाहरुमा धान रोपाई धेरै भएको छ । दक्षिण पश्चिमी भेगका पालिकाहरुमा रोपाई हुनेक्रम जारी रहेकोले औसतमा ५० प्रतिशत क्षेत्रफलमा धान रोपाई भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताउनुभयो । जिल्लाका उत्तरी भेगतिरका खेतियोग्य जमिनहरुमा असारमै रोप्ने चलन भएकाले छिटो सकिन्छ । दक्षिण पश्चिमी भेगहरुमा आधाआधी साउनसम्म अर्थात् ढिलो रोपाई गर्ने भएकाले पूरै नसकिएको हो ।
गतवर्ष यही समयमा जिल्लामा ६० प्रतिशत क्षेत्रफलमा रोपाई सकिएतापनि यसपटक पर्याप्तमात्रामा वर्षा नहुँदा ढिलोगरी रोपाई सुरु भएको उहाँले बताउनुभयो । “असार १५ सम्म जिल्लामा करिव १२ प्रतिशतमात्रै रोपाई सकिएको थियो” उहाँले भन्नुभयो, “बाँझो जग्गाहरुमा जेठको अन्तिम साताबाट रोपाई सुरु गर्ने र मकै तथा चैते धान भएका जग्गाहरुमा रोपाई ढिलो हुने गरेको छ ।”
पानीको पर्याप्त सिञ्चाई हुने ठाउँमा समयमै रोपाईं हुने र वर्षायामको पानीको भरमा रोपाईं गर्नुपर्ने ठाउँमा रोपाई ढिलो हुने गरेको छ । जिल्लामा उन्नत जातका धानहरु लगाउने प्रचलन बढ्दै गएको छ । रामधान, साबित्री, सुनौलो सुगन्धजस्ता उन्नत धान लगाउने गरेका छन् । स्थानीय जातका पहेँले, आँपझुत्ते, मनसरा, गुर्जी, एक्ले, जर्नेली, अनदी, बाटीसरा, झिनुवा लगायतका जात पनि लगाउने गरिएको पाईन्छ । हाईब्रिड तथा उन्नत जातहरुप्रति किसानहरुको आकर्षण बढ्दै जाँदा स्थानीय जातका धानहरु लोप हुनसक्ने खतरा बढ्दै गएको छ ।
स्याङ्जा जिल्लाका चापाकोट टार, जिमूहा, पकान, डौंवा, लामागे, ठूलाडिही, साँखर, चिन्नेबाससहित आँधीखोला, ज्याग्दीखोला र दरौंखोला आसपासका क्षेत्र धान खेतीका दृष्टिले पकेट क्षेत्र हुन् । पछिल्लो समय स्याङ्जा जिल्लाका विभिन्न भागहरुमा बढ्दो बजारीकरणसँगै सडक तथा घर घडेरी बनाउने कार्यले खेतियोग्य जमिन नासिँदै गएको छ । विगतका वर्षहरुमा खेतीपाती हुने जग्गाहरु घडेरीकारुपमा परिणत हुँदै गएका छन् । बसाईसराई, बाँदर, मृग लगायतका जंगली जनावरहरुको आतङ्क, कामदारको अभाव लगायतका कारणले खेतीपाती गर्न छाडेर जमिन बाँझो रहने क्रम पनि बढ्दै गएको छ ।