तोलाकान्त बगाले
वालिङ ।
स्याङ्जामा योगप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको छ । पतञ्जली योग समिति स्याङ्जाले वालिङस्थित पतञ्जली योग पीठमा नियमित सञ्चालन गर्दै आएको योग अभ्यासलाई पछिल्लो समय जिल्लाभर नै विस्तार गर्दै लगेको हो । समितिले शिक्षक, विद्यार्थी तथा टोल टोलमा पुगेर योग अभ्यास, ब्यायाम तथा प्रणयामहरु सिकाई प्रशिक्षक उत्पादन गरी योगलाई विस्तार गर्दै आएको समितिका अध्यक्ष नारायणप्रसाद तिवारीले बताउनुभयो ।
“पतञ्जली योग पीठ वालिङमा वि.सं २०६६ देखि दैनिक बिहान ५ देखि ७ बजेसम्म योगाभ्यास हुँदै आएको छ” उहाँले भन्नुभयो, “यहाँ योगाभ्यास सिकेर अहिले टोल टोलमा पनि योगसम्बन्धी ब्यायाम तथा प्रणयामहरु सञ्चालन भईरहेका छन् ।” जिल्लाका विभिन्न ठाउँमा योगसम्बन्धी जानकारी तथा प्रशिक्षकहरु तयार गर्न समितिमार्फत निशुल्क सहयोग हुँदै आएको उहाँले बताउनुभयो । स्याङ्जाका वालिङ, पुतलीबजार, भीरकोट, गल्याङ, चापाकोट लगायतका ठाउँहरुमा योग सञ्चालन हुने गरेको छ । “पछिल्लो समय योगसम्बन्धी आकर्षण बढ्दै गएकाले टोल टोल तथा विद्यालयहरुमा पनि योगाभ्यासहरु सञ्चालन हुँदै आएका छन्” उहाँले भन्नुभयो, “टोल टोलमा योगाभ्यास गर्न ईच्छुक समूह भएमा समितिमार्फत निशुल्क योग शिक्षक तयार गर्न सहयोग गर्छौं ।”
वालिङ नगरपालिका र समितिको सहकार्यमा वालिङका विभिन्न विद्यालयमा योग शिक्षक तयार गरी विद्यालयहरुमा योगाभ्यास हुँदै आएको छ । “योग शिक्षक तयार पार्न सैद्धान्तिक र प्रयोगात्मक अभ्याससहितको प्याकेजमा १५ दिनको तालिम दिन्छौं” उहाँले भन्नुभयो, “योग शिक्षकले आँफूले सिकेका कुराहरु आफ्नो समूह तथा विद्यालयमा पुगेर अरुलाई सिकाउने गर्नुहुन्छ, जसले गर्दा योग शिक्षा विस्तार हुने क्रम बढ्दै गएको छ ।”
वालिङ ८ धाराको चौरमा नियमित योगाभ्यास गराउन थालिएको छ । पतञ्जली योग पीठ हरिद्ववारका आयुर्वेद शिरोमणि बालकृष्णजी महाराजको जन्मभूमि पनि यहीँ भएकाले अझ बढी योगको महत्व र विस्तार हुँदै गएको हो । योगमा जान थालेपछि छुट्टै आनन्दको महशुस भएको बताउनुहुन्छ वालिङ ८ की साबित्रा बगाले । बिहानको समयमा योगाभ्यासमा नियमित जाने गरेपछि मन मस्तिष्क सफा हुनुकासाथै स्वस्थ बनाउन सकारात्मक मद्दत पुगेको उहाँले बताउनुभयो । स्याङ्जाका विभिन्न ठाउँहरुसँगै अझ बढी वालिङ नगरभित्रका टोल टोल तथा विद्यालयहरुमा योगसम्बन्धी गतिविधिहरु बढी हुने गरेका छन् । वालिङ नगरभित्रका पतञ्जली योग पीठ वालिङ, भु्रमे, मदिखोला, आँपडाली, बिपी चोक, खहरे, रामबाच्छा लगायतका ठाउँमा नियमित योगाभ्यास हुने गरेको छ । जिल्लाका विभिन्न ठाउँमा दैनिक सञ्चालन हुने योगाभ्यासमा ७००–८०० जना सहभागी हुने गरेका छन् ।