तोलाकान्त बगाले
वालिङ ।
स्याङ्जाको वालिङ नगरपालिकामा सामाजिक सुरक्षा भत्ता २७ करोड वितरण भएको छ । चालु आर्थिक वर्ष २०७९÷०८० को प्रथम त्रैमासिकदेखि चौथो त्रैमासिकसम्म चार पटकमा रु. २७ करोड १९ हजार ७७ वितरण भएको सामाजिक सुरक्षा सूचना ब्यवस्थापन प्रणालीका अपरेटर पदमप्रसाद पराजुलीले बताउनुभयो । नगरपालिकाले ७ हजार २८ जना लाभग्राहीलाई भत्ता वितरण गरेको हो । नगरपालिकाबाट सबैभन्दा धेरै ज्येष्ठ नागरिक भत्ता बुझ्नेको संख्या रहेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा छ करोड ३६ लाख ७३ हजार २४७, दोस्रो त्रैमासिकमा छ करोड ९१ लाख ५३ हजार ८२६, तेस्रो त्रैमासिकमा छ करोड ८७ लाख २५ हजार ३२९ र अन्तिम अर्थात् चौथो त्रैमासिकमा छ करोड ८४ लाख ६६ हजार ६७५ सामजिक सुरक्षा भत्ता वितरण भएको हो ।
१४ वटा वडा रहेको वालिङमा वडागतरुपमा छुट्टाछुट्टै चेक काटी ९ वटा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण हुँदै आएको थियो । चालु आर्थिक वर्षको चौथो त्रैमासिकमा वालिङ नगरपालिकाले विद्युतीय रकम भुत्तानी (ईफटी) मार्फत लाभग्राहीको खातामा राखिदिएको हो । नगरपालिकाले विद्युतीय रकम भुक्तानी प्रणालीमार्फत चौथो त्रैमासिकमा ज्येष्ठ नागरिक भत्ता चार हजार १७८ जनालाई रु. चार करोड ९९ लाख २५ हजार ३७, ज्येष्ठ नागरिक भत्ता (दलित) ३४६ जनालाई २७ लाख ४६ हजार ३२२, ज्येष्ठ नागरिक एकल महिला ६०२ जनालाई ४७ लाख ९८ हजार २९७, विधवा ८१७ जनालाई ६५ लाख १९ हजार ६६०, पूर्ण अपाङ्गता भत्ता १३१ जनालाई १५ लाख ६८ हजार ७०, अति अशक्त अपाङ्गता भत्ता २९५ जनालाई १८ लाख ८३ हजार २८० र ६५९ दलित बालबालिकालाई १० लाख २६ हजार ९ गरी कूल सात हजार २८ जनालाई छ करोड ८४ लाख ६६ हजार ६७५ भुक्तानी गरिएको उहाँले बताउनुभयो ।
“देशभरका ५० वटा पालिका छनोट गरी पाईलट प्रोजेक्टकोरुपमा वालिङ नगरपालिका छनोटमा परी सामाजिक सुरक्षा भत्ता विद्युतीय रकम भुक्तानी प्रणालीमार्फत उपलब्ध गराएका हौं” उहाँले भन्नुभयो, “यसअघिसम्म एकमुष्ठ बैंकको नाममा चेक उपलब्ध गराउँदै आएकोमा चौथो त्रैमासिकबाट चेक नभई सिधै लाभग्राहीको खातामा भत्ता उपलब्ध गराएका हौं ।” लाभग्राहीको खातामा सिधै भुक्तानी भएपछि लाभग्राही तथा बैंकलाई सहज भएको छ । आफ्नो खातामा रकम आएको निधो गरेर लाभग्राहीले समय अनुकुल भत्ता रकम झिक्न सक्ने भएका हुन् ।