वालिङ, १९ असार ।
वालिङ नगरपालिका ८ नं. वडा कार्यालयले महिलाहरुका लागि नेतृत्व विकास तथा उदघोषण तालिम दिएको छ । वडाका विभिन्न २५ टोलका टोल संयोजक, पदाधिकारी तथा सदस्यहरुलाई उदघोषण तालिम दिएको हो । महिलाको नेतृत्व विकास गर्दै महिला शसक्तिकरणमा जोड दिने उद्देश्यले तालिम आयोजना गरेको वडा अध्यक्ष दामोदर तिवारीले बताउनुभयो । अध्यक्ष तिवारीले टोल टोलका गतिविधिहरु वडा कार्यालयसम्म आईपुग्न पनि सहज हुने विश्वास ब्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति स्याङ्जाका सदस्य तथा समन्वय महासंघ गण्डकी प्रदेश महासचिव सरस्वती बगाले, कार्यपालिका सदस्य युगमाया पंगेनी, वडा सदस्य चोलाकान्त अर्याल, कविता परियार, वडा सचिव प्रेमनारायण सुबेदी, सहभागी कृष्ण मल्ललगायतले यहाँ सिकेका सीपलाई कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिनुभएको थियो । तालिममा रेडियो आँधीखोलाका प्रबन्धक तोलाकान्त बगाले, वालिङ टेलिभिजनका गोपाल जिटी र मोटिभेसनसम्बन्धी रामचन्द्र केसीले सहजीकरण गर्नुभएको थियो ।