टिकाराम अधिकारी
गल्याङ, ५ असार ।
गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराई समाजमा लागु औषधको विकृति लुकेर रहेको हुनसक्छ त्यसको न्यूनिकरणका लागि नगरभरी नै यस्ता कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताउनुभएको छ । सोमबार स्याङ्जाको गल्याङ नगरपालिका वडा नं.३ को आर्थिक सहयोग र आलमदेवी मिडिया प्रा.लिको सहजीकरणमा आयोजित सर्ने, नसर्ने तथा लागू औषध दुब्र्यसनी नियन्त्रण सम्बन्धी जनचेतनामूलक कार्यक्रमको उद्घाटन गर्नुहुँदै उहाँले हाम्रो मानव जीवन विभिन्न रोग तथा लागु पदार्थ सेवनकाकारण बर्बाद हुनसक्छ त्यसैले यो महत्वपूर्ण मानव जीवनलाई सही मार्गमा हिंडाउन यस्ता कार्यक्रम गाउँ टोलमा सञ्चालन गर्न आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, मानिस दुब्र्यसनमा फसेपछि पुनः पहिलेकै अवस्थामा फकाउन नसकिने र अन्त्यम आत्महत्या गर्नसम्म पछि नपर्ने भएकाले यस्ता अभियानले मानव जीवनको रक्षा गर्ने पक्षमा टेवा पुग्ने बताउदै वडा नं.३ ले रचनात्मक कार्य गरेको बताउनुभयो ।
कार्यक्रममा गल्याङ नगर शिक्षा समिति सदस्य सरस्वती भट्टराई, फलाङ टोल विकास समितिका अध्यक्ष केशबराज न्यौपाने, चिराग आवासीय माध्यमिक विद्यालयका शिक्षक रुक्मागत भण्डारी, सहभागीको तर्फबाट गल्याङ बहुमुखी क्याम्पसको विद्यार्थी आकृति भण्डारी, आदर्श आवासीय माध्यमिक विद्यालयकी विद्यार्थी शिशिल्या सिंजाली भूपू सैनिक माध्यमिक विद्यालयका विद्यार्थी एन्जल अर्याल लगायतले बोल्नुभएको थियो ।
करिब १०० जनाको सहभागिता रहको कार्यक्रमको प्रशिक्षण जीवनबाटीका स्याङ्जाका अध्यक्ष नवीन अर्याल, गल्याङ प्रहरी चौकी प्रमुख यामनाथ बगाले, गल्याङ नगरपालिकाका स्वास्थ्य शाखाका सहायक प्रमुख दुर्गाप्रसाद भट्टराईले गर्नुभएको थियो । गल्याङ नगरपालिका वडा नं.३ का वडाअध्यक्ष कृष्णप्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य गल्याङ नगरपालिका वडा नं.३ का वडासचिव यामनाथ बस्याल (सुधिर) ले र कार्यक्रमको सञ्चालन आलमदेवी मिडिया प्रा.लिका अध्यक्ष टिकाराम अधिकारीले गर्नुभएको थियो ।