मनोसामाजिक परामर्श सेवाको दिगोपनाबारे अन्तरक्रिया कार्यक्रम

0
101
Google search engine

वालिङ, ४ असार
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत स्थानीय तहमा मनोसामाजिक परामर्श सेवाको दिगोपनाबारे अन्तरक्रिया कार्यक्रम आज वालिङमा गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख कृष्ण खाँणले मनोसामाजिक परामर्शले सकारात्मक प्रभाव पार्ने भएकाले यसको प्रभावकारिता बढ्दै गएको बताउनुभयो । नगरपालिका आगामी आर्थिक वर्षकालागि नीति तथा कार्यक्रम बनाउने तयारीमा रहेकाले पनि यस विषयलाई गम्भीरताकासाथ लिएको र आगामी नीति तथा कार्यक्रममा समेटेर अगाडि बढ्ने प्रतिवद्धता जनाउनुभयो । वैदेशिक रोजगारीसँगै परिवार वा ब्यक्तिमा आईपर्ने विभिन्न समस्याहरुकाबारेमा मनोसामाजिक परामर्शकै माध्यमबाट समाधान निकाल्न सकिने भएकाले पनि यसको दिगोपनाकालागि नगरपालिका प्रतिवद्ध रहेको उपप्रमुख कविता तिवारी गैह«ेले बताउनुभयो ।
वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनुकालागि आवश्यक ज्ञान दिनकालागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले बताउनुभयो ।
वैदेशिक रोजगारीमा जानेले सही सूचना तथा सीप सिकेर गएमात्रै सहज हुने भएकाले यस कार्यक्रममार्फत वैदेशिक रोजगारीमा जानेहरुलाई सचेत गराउँदै आएको उहाँले बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेश कार्यक्रम अधिकृत रोजलिङ सिंह, सामी कार्यक्रम पोखरा क्लस्टर, गण्डकी प्रदेशका वित्तीय साक्षरता क्षेत्रीय संयोजक जुना केसी, गण्डकी प्रदेश मनोसामाजिक परामर्शकर्ता लक्ष्मी तामाङ, वालिङ नगरपालिका सूचना परामर्शकर्ता कोपिल भुसाल लगायतले कार्यक्रममाथि प्रकाश पार्नुकासाथै सहजीकरण गर्नुभएको थियो । कार्यक्रममा वालिङ नगरपालिकाका जनप्रतिनिधिहरु, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरु, वालिङ उद्योग वाणिज्य संघ, प्रहरी, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरु, वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यहरुको सहभागिता रहेको थियो । सोही कार्यक्रममा वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रमहरुलाई स्थानीय सरकारको सेवा तथा कार्यक्रमहरुमा सहभागिता र दिगोपन अभिवृद्धिकालागि स्थानीय सरकार तथा सरोकारवालाहरुसँगको समन्वयका विषयमा समेत अन्तरक्रिया गरिएको थियो ।

Google search engine
Google search engine