वालिङ नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

0
72
Google search engine

वालिङ २६ जेठ ।
स्याङ्जाको वालिङ नगरपालिकाले सार्वजनिक सुनुवाई गरेको छ । नगरपालिकाले “कृषि, उद्योग, पर्यटन, उर्जा, सूचना प्रणाली र पूर्वाधार स्मार्टसिटी वालिङ निर्माणको आधार” भन्ने नारासहित शुक्रबार सार्वजनिक सुनुवाई गरेको हो । यो वर्ष नगरपालिकाले गरेका विकास निर्माण सम्बन्धी जानकारीसहित नगरबासीको गुनासा, सुझाव तथा सल्लाह लिने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माद्वारा सेवा प्रवाहकाबारेमा जानकारी गराएपछि सहभागीहरुलाई समय दिइएको थियो ।
नगरपालिकाले नीति तथा कार्यक्रम बनाई वार्षिक बजेट निर्माण गर्ने बेलामा सार्वजनिक सुनुवाई गर्नु उचित समय नभएको सहभागीहरुले गुनासो गरे । भौतिक निर्माणमा गुणस्तरीय काम हुन नसक्दा छिट्टै बिग्रने र पुनः निर्माण गर्नुपर्दा लगानीको दुरुपयोग हुनेतर्फ नगरपालिकाले ध्यान पु¥याउन उनिहरुको सुझाव छ । यसैगरी शान्ति सुरक्षा, अमन चयन र सुशासनमा ध्यान दिन सहभागीहरुको राय छ । शिक्षा र स्वास्थ्य सर्वसुलभ गराउन नगरपालिकाको ध्यान जानुपर्ने भन्दै निजी विद्यालय र स्वास्थ्य संस्था मापदण्ड अनुसार चलेका छन् कि छैनन् भनेर अनुगमन गर्नुपर्ने विचार सहभागीहरुले राखे ।
कार्यक्रममा सहभागीहरुको जिज्ञासाको जवाफ दिदै नगर प्रमुख कृष्ण खाँडले नीति तथा कार्यक्रम र बजेट निर्माणमा सहयोग पुगोस भनेर अन्तिम समयमा आएर सार्वजनिक सुनुवाई गरिएको बताउनुभयो । उहाँले नगरबासीहरुको सुझाव तथा सल्लाहलाई गायत्री मन्त्रकारुपमा लिने र काम गर्नका लागि मार्ग दर्शक हुने विश्वास व्यक्त गर्नुभयो । जन प्रतिनिधि विज्ञ छैनौं भन्दै नगर प्रमुख खाँडले सबैलाई सँगै लिएर काम गर्ने बताउनुभयो । वालिङलाई सिकाईकोरुपमा लिनेगरी काम गर्ने भन्दै अघिल्लो समयका जनप्रतिनिधिले गरेका राम्रा कामलाई निरन्तरता दिएर अगाडि बढ्नेसमेत उहाँले व्यक्त गर्नुभयो । आँधिखोला उत्खनन्को विषयमा उठेका प्रश्नको जवाफमा नगर प्रमुख खाँडले खोला दोहनको विषय देशैभरिको समस्या भएकाले बहसकोरुपमा लैजाने उल्लेख गर्नुभयो । सिद्धान्त र राजनीति जीवनका लागि हुनुपर्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै कुनै दल वा व्यक्ति भन्दा पनि आम नागरिकको हीतमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसैगरी नगर उप प्रमुख कविता तिवारी गैहे«ले कृषिमा आमूल परिवर्तन गर्ने योजना रहेको बताउनुभयो । पछिल्लो समय लगाएको खेति बाँदरले खाइदिने भएकाले किसानहरु समस्यामा परेका र यसका लागि हेरालुको व्यवस्था गरिने उप प्रमुख गैहे«ले जानकारी गराउनुभयो । सहभागीहरुको जिज्ञासाको जवाफ दिंदै उहाँले यो वा त्यो नभनी नगरबासीको साझा सेवककारुपमा आँफूहरुले काम गर्दै आएको विश्वास व्यक्त गर्नुभयो । वालिङलाई स्मार्ट नगरकारुपमा विकास गर्न सबैसँग हातेमालो गरेर अगाडि बढ्ने उप प्रमुख गैहे«को भनाई छ ।
यसैगरी प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्माले कार्य व्यस्तता र प्राविधिक कारणले पटक पटक सार्वजनिक सुनुवाई गर्न नसकिएको बताउनुभयो । शैक्षिक सुधारका लागि अनुगमन टोली खटाइएको उहाँले जानकारी गराउनुभयो । अहिलेसम्म वार्षिक बजेटको ५५ प्रतिशत मात्र खर्च भएको र बाँकि काम र खर्च नहुनुमा नागरिकहरु पनि जिम्मेवार रहेको बताउनुभयो । योजना छनोट गर्ने तर समयमा सम्झौता गर्न नगरवासी नआउने हुँदा काम हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।

Google search engine
Google search engine