वालिङ
गण्डकी प्रदेश उद्योग,पर्यटन, वन तथा वातावरण मन्त्रालय र पर्यटन, उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय पोखराको आयोजनामा वालिङमा गोष्ठी तथा अन्र्तक्रिया सम्पन्न भएको छ । गोष्ठीमा उद्योग वाणिज्य क्षेत्रका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो । गोष्ठीको उद्दघाटन गर्नुहुँदै वालिङ नगरप्रमुख कृष्ण खाँंणले देशकै नमुना औद्योगिक ग्राम बनाउने गरी काम अगाडि बढेको भन्दै सबैको साथ र सहयोगले मात्रै यो परियोजना संभव रहेको बताउनुभयो । औद्योगिक ग्राममा स्थानीय कच्चा पदार्थहरुको प्रयोग गरी वस्तु उत्पादन गरी रोजगारी समेत सृजना गरिने नगरप्रमुख खाँंणको भनाई छ ।
कार्यक्रममा उपप्रमुख कविता तिवारीले औद्योगिक ग्राम निर्माण कार्यलाई सहयोग गर्न आग्रह गर्दै आगामि आर्थिक वर्षमा बजेट विनियोजन गरी पुरा गर्नका सबैले साथ सहयोग गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा पर्यटन, उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशक प्रवीण ढकाल, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठ, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष श्रीकृष्ण सिग्देल, प्रदिपकुमार रेग्मी, नारायणप्रसाद ढकाललगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा जिल्लाको उद्योग, वाणिज्य क्षेत्रको वस्तुस्थिति र देखिएका समस्याहरुका बारेमा पर्यटन तथा उद्योग कार्यालय स्याङ्जाका प्रमुख ठाकुरप्रसाद ढकाल, उद्योग तथा वाणिज्य क्षेत्रमा गण्डकी प्रदेशले लिएको नीति तथा कार्यक्रम र भावी कार्यदिशा सम्बन्धी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका महासाखा प्रमुख रामप्रसाद आचार्य र खाद्य उद्योग सम्बन्धी विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखराका प्रमुख शिवजी बरालले सहजीकरण गर्नुभएको थियो ।