आरती कुँवर
वालिङ ।
स्याङ्जाको वालिङमा जातीय भेदभाव तथा छुवाछूत मुक्त राष्ट्र घोषणा दिवस विषयक अन्तरक्रिया गरिएको छ । वालिङ नगरपालिकाको आयोजनामा दलित महिला उत्थान केन्द्र तथा स्थानीय सरकार सवलिकरण, अष्ट्रेलियन एड र द एसिया फाउन्डेसनको समन्वयमा अन्तरक्रिया गरिएको हो । कार्यक्रममा बोल्नुहुदै वालिङ नगर प्रमुख कृष्ण खाँणले छुवाछूत र भेदभाव फरक कुरा भएको भन्दै छुवाछूतको अन्त्य पहिला आँफुबाट नै गर्न आवश्यक रहेको औंल्याउनुभयो । साथै उहाँले छुवाछूतको अन्त्य आफ्नै भान्साबाट गर्ने घोषणा पनि गर्नुभएको छ । दलित समुदायका व्यक्तिलाई आफ्नै भान्सामासंँगै बसेर खाना खाएर यो कुराको अन्त्य गर्ने उहाँको भनाइ थियो । सबैभन्दा ठूलो धर्म मानव धर्म रहेको भन्दै संसारमा मानवीय धर्म हराउँदै गएको बताउनुभयो । मानवले नै बनाएको यस गलत संस्कारको शिकार दलित समुदाय बन्नुपरेको उहाँको भनाइ थियो । यस कुराको अन्त्यका लागि नगरपालिका सधैं सकारात्मक रहेको जनाउदै दलित समुदाय उत्थानको लागि एजेन्डा नै तयार पारी अगाडि बढ्ने बताउनुभयो ।
यस्तै कार्यक्रमको बारेमा पृष्ठपोषण तथा कार्यक्रममाथि प्रकाश पार्नुहुँदै निवर्तमान नगरप्रमुख दिलीपप्रताप खाँणले छुवाछूत प्रथा अन्त्यको घोषणा गरेको पाँच वर्षपछि ऐन बन्नु दुःखद रहेको बताउनुभयो । उहाँले वर्ण र जात फरक रहेको भन्दै मानिस जन्मिदै माथिल्लो र तल्लो जात भनेर नजन्मिने तर परम्परा र संस्कारले जात छुट्टाइएको बताउनुभयो । यो जातजाति भनेर छुट्टाउने परम्परा पहिलेदेखि नै चलिआएको र अबको संस्कार तथा परम्परा सकारात्मक खालको हुनुपर्नेमा जोड दिनुभयो ।
दलित समुदायले सहानुभूतिको आशा नराखेको तर समानुभुतिको अपेक्षा गरेको उहाँको भनाइ थियो । हरेक अवसरमा समानता भएमा मात्रै दलित समुदाय पनि अरु समुदायको बराबरीमा आउने उल्लेख गर्नुभयो । सकारात्मक खाले विभेद भएमा पनि समान अवसर मिल्ने बताउनुभयो । समाजमा सकारात्मक संस्कार तथा परम्परा र चेतनाको विकास हुन आवश्यक रहेको उहाँले बताउनुभयो । अबको नयाँ पुस्ताले छुवाछूत विरुद्धको संस्कार लिएर अगाडि बढे छुवाछूतको अन्त्य हुने उहाँको भनाइ थियो ।
यस्तै सहभागीकोतर्फबाट कार्यान्वयन गर्ने ठाउँ तथा क्षेत्रका व्यक्तिहरुले दलित समुदायका समस्याको पहिचान गर्न नसकेको गुनासो गर्दै खुल्ला साेंच राख्न आग्रह गरेका थिए ।कार्यक्रममा वालिङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत तेजराज शर्मा, द एसिया फाउन्डेसनका गण्डकी प्रदेश संयोजक पूर्ण परियार लगायतले बोल्नुभएको थियो । कार्यक्रममा दलित महिला उत्थान केन्द्रकी स्याङ्जा संयोजक राधा नेपालीले कार्यक्रमकाबारेमा प्रकाश तथा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम सामाजिक विकास समिति संयोजक युगमाया पंगेनीको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत कार्यपालिका सदस्य भक्तबहादुर गोतामेले र सञ्चालन वालिङ ५ कि वडा सदस्य अनिता नेपालीले गर्नुभएको थियो ।
आज छुवाछूत मुक्त राष्ट्र घोषणाको १७ वर्ष पूरा हुँदा अझै पनि हाम्रो नेपाली समाजमा छुवाछूत कायमै रहेको छ । छुवाछूत कानुनी तबरमानै दण्डनीय भएता पनि हाम्रो समाजमा भने यसको व्यवहारिक रुपमा नै अन्त्य नहुनु दुखद पक्ष रहेको छ । छुवाछूत अन्त्यका लागि विभिन्न नियम कानुन बनेता पनि मानिस कानुनभन्दा पनि माथि बनेर यसलाई कायम राख्नु साँच्चै नै हाम्रालागि लज्जास्पद बनेको छ । यस कुसंस्कारको विकास हुनुमा कहिकतै राजनीतिक दल, बुद्धिजीवी, सामाजिक व्यक्तित्व, सामाजिक संरचना तथा दलित समुदायमा पनि हुने तल्लो वर्ग र माथिल्लो वर्गबीचको अन्तरले नै यस छुवाछूतले जरा गाडेको भन्दा कत्ति फरक नपर्ला । यस विषयमा गहन छलफल तथा बहस हुन आवश्यक देखिएको छ ।