वालिङ, १७ जेठ ।
चर्चित लोक तथा दोहोरी गायिका सीता परियारले दोस्रो राष्ट्रिय गण्डकी म्युजिक अवार्ड २०८० मा सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिकाको अवार्ड प्राप्त गर्नुभएको छ । पुष्पान्जली स्टुडियो पोखराको आयोजनामा जेठ १३ गते सम्पन्न कार्यक्रमको एक समारोहकाबीच उक्त अवार्ड प्राप्त गर्नुभएको हो । ग्रहण गर्नुभएको हो । कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकालले उक्त अवार्ड गायिका सीताका श्रीमान् पूर्ण परियारलाई प्रदान गर्नुभएको हो । ४० भन्दा बढी विधामा अवार्ड वितरण गरिएको सो कार्यक्रममा परियारसँंगै नेपालका चर्चित कलाकारहरुले फरक फरक विधामा अवार्ड प्राप्त गरेका हुन् ।
नेपाली गीत संगीतको ब्यापार डिजिटल प्लेटफर्मसंँगै विश्व बजारमा पुग्न सफल रहेको छ । नेपाली संगीतले पनि बेला बेला युटुब ट्रेन्डिङ पुग्दै राम्रो ब्यपार गरिरहेको छ । यसमा पनि अझै अहिलेको बजार खास गरी प्रत्यक्ष नेपाली लोक दोहोरीले आम दर्शकहरुको मन जितिरहेको छ । यही माध्यमबाट धेरै लोकदोहोरी गायक गायिकाहरु उत्पादन भइरहेका छन् । कति स्थापित भएर यही पेशालाई जीवनयापनको माध्यम बनाएर ब्यसायिकरुपमा आँफूलाई स्थापित गरिरहेका छन् । प्रत्यक्ष लोक दोहोरी गायन हेर्दा र सुन्दा रमाइलो र सजिलो जस्तो देखिए पनि यो एक अदभुत क्षमता हो । शब्द, संगीत र स्वरलाई तत्कालका तत्काल ३० सेकेन्डभित्र आम दर्शक श्रोताहरुको मन जित्ने गरी सवाल जवाफ गर्नुलाई असामान्य ज्ञान सीप र क्षमताको समिश्रण भन्न सकिन्छ । यही क्षेत्रको सर्वप्रिय दोहोरी गायिका परियार विगत १६ वर्षदेखि दोहोरी क्षेत्रमै समर्पित हुनुहुन्छ । झण्डै एकदशक अघि नेपालका सयौं दोहोरी प्रतियोगितामा बिजयी गायिका परियारले २०७० मा काठमाडौंमा सम्पन्न राष्ट्रिय हाइलाइटस नेपाल लोकदोहोरी अवार्डमा प्रातियोगी दोहोरी गायिका विधामा सर्वोत्कृष्ट गायिकाको अवार्ड जित्न सफल हुनुभएको थियो । उहाँले अवार्ड जितेपछि प्रतियोगितामा केही वर्ष विश्राम गर्दै अफिसियल गीतहरु बजारमा प्रस्तुत गर्दै आउनुभयो । उहाँको स्वरमा दर्जनौं अफिसियल लोक दोहोरीहरु बजारमा आएका छन् । २०७९ सालमा पोखरा सभागृहमा सम्पन्न कल्याण शेरचन स्मृति प्रतिष्ठानले आयोजना गरेको नेपालकै ठूलो राशी भएको राष्ट्रिय खुल्ला दोहोरी गीत प्रतियोगितामा ४८ समूहको प्रतिस्पर्धामा उत्कृष्ट दोहोरी गायिकाकोरुपमा नगद रु ५० हजार राशीको पुरस्कार जित्न सफल भएपछि उहाँको चर्चा फेरि फर्कियो र उहाँलाई चिन्ने नचिन्ने नयाँं तथा पुराना दोहोरीप्रेमीहरुबीचमा आफुलाई चिनाउन सफल हुनुभयो । त्यसपछि उहाँ निरन्तर प्रत्यक्ष दोहोरी गायनमा ब्यस्त हुनुहुन्छ । बागलुङको गलकोटमा जन्मेर परिवारसहित पोखरा बस्दै आउनुभएकी परियारको ब्यस्तता काठमाडौंमा बढिरहेको छ । दिनमा ५–६ वटासम्म एपिसोर्ट दोहोरी छायाङ्कन गर्न सक्ने परियारलाई व्यवसायिकरुपमा दोहोरी सञ्चालन गरिरहेका चर्चित कम्पनीहरुले उहाँको स्वर र शब्दमा दोहोरी रेकर्ड गराउनका लागि लगानी गरिरहेका छन् ।