वालिङ
दक्षिण एशियाकै पहिलो सामुदायिक घरबास (होमस्टे) सिरुबारीमा सिसी क्यामेरा जडान गरिएको छ । घरबासमा हुनसक्ने संभावित घटनाहरु हुन नदिनकालागि पहिलो चरणमा पाँच वटा ठाउँमा सिसी क्यामेरा जडान गरिएको हो । सिरुबारी पर्यटन विकास समितिले आफ्नै लगानीमा सिसी क्यामेरा जडान गरेको सिरुबारी सामुदायिक होमस्टेका ब्यवस्थापक उर्मिला गुरुङले बताउनुभयो । “सिरुबारीमा आउनुहुने आन्तरिक तथा बाह्य पर्यटकसहित गाउँको सुरक्षाकालागि सिसी क्यामेरा जडान गरेका हौं” उहाँले भन्नुभयो, “पर्यटन विकास समितिको लगानीमा गाउँका मुख्य मुख्य ठाउँमा पहिलो चरणमा पाँच वटा सिसी क्यामेरा जडान गरेका छौं, दोस्रो चरणमा थप गर्दै लैजाने तयारीमा छौं ।”
मुख्य बाटोहरु, सांस्कृतिक कार्यक्रम हुने स्थलहरुमा जडान भएको सिसी क्यामेराको निगरानी समितिमार्फत नै हुने गरेको उहाँले बताउनुभयो । सिसी क्यामेरा जडानसँगै गाउँ ठाउँमा चोरी लगायतका संभावित घटनाहरु हुन नपाउने समितिको ठहर छ । “मुख्य मुख्य ठाउँमा सिसी क्यामेरा जडान गर्ने अभियानलाई निरन्तरता दिंदै सबै घर÷घरमा जडान गर्ने तयारीमा छौं ।” ग्रामीण सामुदायिक होमस्टेका पिताकारुपमा रहनुभएका क्या. रुद्रमान गुरुङले होमस्टेको अवधारणा अनुसार वि.सं. २०५४ सालमा यहाँ कामको थालनी गर्नुभएको थियो । देशकै एकसय नयाँ पर्यटकीय गन्तब्यमध्ये सिरुबारी सामुदायिक होमस्टे पनि सूचिकृत रहेको छ ।
३९ घरबाट शुरु भएको घरबास हाल २० घरमा सञ्चालित छ । यहाँ एकसयको हाराहारीमा पाहुना राख्न सकिन्छ । सिरुबारी गुरुङ समुदायको बसोबास भएको पर्यटकीय गाउँ हो । यहाँ आउने पाहुनालाई गुरुङ समुदायको कला र संस्कृतिबाट न्यानो स्वागत सत्कार गर्ने गरिन्छ । विशेष गरेर यहाँ घरबासको ब्यवस्थापन पक्षकाबारेमा बुझ्न टाढा टाढाबाट पाहुनाहरु आउने गर्छन् । हालैमात्रै सिरुबारी पर्यटकीय गाउँ स्थापनाको अवसरमा रजत जयन्ती मनाईएको छ ।