वालिङ
स्याङ्जाका एघार वटै पालिकाको जनसंख्या बृद्धिदर ऋणात्मक रहेको छ । राष्ट्रिय जनगणना २०७८ मा उल्लेख भएको विवरणका आधारमा स्याङ्जाका सबै पालिकाको जनसंख्या बृद्धिदर तुलनात्मकरुपमा ऋणात्मक रहेको हो । पाँच नगरपालिका र छ गाउँपालिका रहेको स्याङ्जामा नगरपालिकातर्फ गल्याङ नगरपालिकाको जनसंख्या बृद्धिदर धेरै ऋणात्मक रहेको छ । गल्याङको वार्षिक जनसंख्या बृद्धिदर १.९० ऋणात्मक रहेको छ । सबैभन्दा कम ०.१४ ऋणात्मक वालिङ नगरपालिकाको छ । गाउँपालिकातर्फ सबैभन्दा धेरै बिरुवा र हरिनास गाउँपालिकाको २.६३ ऋणात्मक रहेको छ । सबैभन्दा कम ऋणात्मक वार्षिक जनसंख्या बृद्धिदर फेदीखोला गाउँपालिकामा छ । फेदीखोलामा १.१९ प्रतिशत ऋणात्मक छ ।
स्याङ्जाको गल्याङ नगरपालिका देशभरका सबैभन्दा बढी वार्षिक जनसंख्या बृद्धिदर ऋणात्मक नगरपालिकामध्ये चौथो नम्बरमा रहेको छ । गल्याङ नगरपालिकामा २०६८ को जनगणना अनुसार ३७ हजार ८०९ जनसंख्या रहेको थियो । २०७८ को जनगणनामा ३१ हजार ३४ जनसंख्या रहेको छ । स्याङ्जामा २०६८ मा भएको जनगणना अनुसार कूल दुई लाख ८९ हजार १४८ जनसंख्या रहेको थियो । २०६८ को जनगणना अनुसार स्याङ्जामा ६८ हजार ८८१ परिवार संख्या रहेको थियो । २०७८ को जनगणना अनुसार स्याङ्जामा ६८ हजार ९५९ परिवार संख्या रहेको छ । जिल्लाको जनसंख्या दुई लाख ५३ हजार २४ रहेको छ । जिल्लाका एघार वटै पालिकाको वार्षिक जनसंख्या बृद्धिदर ऋणात्मक हुँदा स्याङ्जा जिल्ला पनि १.२८ प्रतिशत ऋणात्मकमा रहेको छ । जसमा पुरुष एक लाख १६ हजार ६७८ र महिला एक लाख ३६ हजार ३४६ रहेका छन् । स्याङ्जामा पुरुषभन्दा महिलाको संख्या १९ हजार ६६८ ले धेरै छ ।