दलित वस्तीको ४० घरमा ‘एक घर – एक धारा’

0
155
Google search engine

वालिङ
स्याङ्जाको वालिङ १४ बैरेको दलित वस्तीमा ‘एक घर – एक धारा’ निर्माण गरिएको छ । ४० घर दलित समुदायको मात्रै बसोबास रहेको उक्त गाउँ लामो समयदेखि पानीको समस्याबाट गुज्रिदै आएकाले पानीको सहज पहुँच उपलब्ध गराउने गरी ‘एक घर – एक धारा’ निर्माण गरिएको हो । सिङ्गो दलित वस्ती खानेपानीको अभावमा छट्पटिरहेका बेला तत्कालीन थुमपोखरा गाविसले रु. एक लाख रकम बजेट विनियोजन गरी योजना निर्माण थालेतापनि हालै मात्रै निर्माण सम्पन्न भएको वालिङ १४ का वडा अध्यक्ष बोधराज कुँवरले जानकारी दिनुभयो ।
स्थानीय तहको राज्य पुर्नसंरचनासँगै वालिङ नगरपालिकामा गाभिएको उक्त गाउँमा नगरपालिकाबाट पटक पटक गरी रु. २४ लाख विनियोजन भई निर्माण गरिएसँगै घर–घरमा खानेपानीको धारा जडान गर्न सकिएको उहाँले बताउनुभयो । गाउँभन्दा झण्डै सात सय मिटर तल मुहानमा ईनार खनिएको छ । गाउँभन्दा माथिल्लो भागमा पानी सङ्कलन गर्ने ट्याङ्की निर्माण गरी ईनारको पानी ट्याङ्कीमा तानिएको छ । ट्याङ्कीमा सङ्कलन गरिएको पानीलाई प्रत्येक घर घरमा वितरण गरिएको उहाँले बताउनुभयो । “खानेपानीको चरम अभाव हुँदा समस्या झेल्दै आउनुभएका स्थानीयहरुलाई घर घरमै खानेपानी खुवाउने योजना ढिलै भएपनि पूरा भएको छ” उहाँले भन्नुभयो, “खानेपानी योजना परेसँगै मुलको विवाद तथा बाधा अड्चनकाकारण ढिलो गरी सम्पन्न भएको हो ।”
एक गाग्री पानीकालागि निक्कै समय खर्चनुपर्ने अहिलेसम्मको बाध्यता हटेर गएको बैरे खानेपानी उपभोक्ता समितिकी अध्यक्ष धनसुबा परियारले बताउनुभयो । स्थानीयले मुल तथा जग्गा उपलब्ध गराएसँगै खानेपानीको समस्या समाधान भएको हो । “एक गाग्री पानीकालागि समय निक्कै खर्चिनुपर्ने बाध्यता थियो” उहाँले भन्नुभयो, “अहिले घर–घरमै खानेपानीको धारा जडान भएसँगै धेरै सहज भएको छ, हाम्रो दैनिकी नै फेरिन थालेको छ ।” खानेपानीकालागि बिहान सबेरै उठेर खोला तथा खोल्सीहरुमा लाईन लाउनुपर्ने अवस्थाको अन्त्य भएकोमा स्थानीयहरु खुसी र हर्षित छन् ।

Google search engine
Google search engine