चापाकोट अस्पतालमा दन्त सेवा सुरु

0
155
Google search engine

वालिङ
स्याङ्जाको चापाकोट अस्पतालमा दन्त सेवा सुरु गरिएको छ । दन्त उपचारकालागि टाढा टाढा जानुपर्ने बाध्यतालाई मध्यनजर गरी अस्पतालमा दन्त सेवा सुरु गरिएको हो । रोटरी क्लब अफ काठमाडौं नर्थ डिस्ट्रिक ३२९२, रोटरी क्लब अफ उकु जिङजोङ, न्यू ताईपे ताईवान डिस्ट्रिक ३४९०, कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पताल÷कान्तिपुर डेन्टल अस्पताल काठमाडौंको सहयोगमा दन्त उपचार सेवा सुरु गरिएको हो ।
कूल १९ लाख ३१ हजारका अत्याधुनिक उपकरणहरु जडानसँगै दन्त उपचार सेवा सुरु गरिएको कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालका अध्यक्ष एवं रोटरी क्लब अफ काठमाडौं नर्थका पूर्व अध्यक्ष डा. बुद्धिमान श्रेष्ठले बताउनुभयो । “आफ्नै जन्म स्थान चापाकोटमा दाँत तथा मुखका बिरामीले नजिकै सेवा पाउन भन्ने उद्देश्यले चापाकोट अस्पताललाई दन्त उपचार सेवा सञ्चालन गर्न उपकरण हस्तान्तरण गरेका हौं” उहाँले भन्नुभयो, “दाँत, मुख तथा गिँजासम्बन्धी रोगका बिरामीले सहज उपचार तथा आवश्यक परामर्श पाउने छन् ।”

Google search engine

कान्तिपुर डेन्टल कलेज तथा रोटरी क्लबहरुको सहयोगमा यसअघि स्याङ्जाको गल्याङ नगर अस्पताल, कास्कीको तालचोक, रुपन्देहीको भलबारीमा पनि दन्त उपचार सेवा सञ्चालन गर्न उपकरणहरु निशुल्क उपलब्ध गराएको उहाँले बताउनुभयो । चापाकोट तथा आसपासका नागरिकहरु दाँत तथा मुखको उपचारकालागि अन्यत्रै जानुपर्ने बाध्यता अब हटेर गएको नगर प्रमुख देबबहादुर खाँण (ईश्वर) ले बताउनुभयो । यहाँका नागरिकलाई आफ्नै ठाउँमा दन्त तथा मुखसम्बन्धी उपचार दिने गरी आवश्यक उपकरणहरु सहयोग गरिदिनुभएकोमा सहयोगीहरुप्रति उहाँले आभार ब्यक्त गर्नुभयो ।
नेपाल सरकारको स्वास्थ्य बीमा अस्पतालमा सञ्चालनमा रहेकाले सेवा लिनकालागि सहजता हुने अस्पतालका मेडिकल अधिकृत डा. बिक्रम तिवारीले बताउनुभयो ।

Google search engine