वालिङ
स्याङ्जाको वालिङ नगरपालिकाले भौतिक पूर्वाधारहरु निर्माण गर्दा अपाङ्गमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ । स्थानीय तहमा अपाङ्गता समावेशी विकाससम्बन्धी पालिकाका जनप्रतिनिधिहरु, विषयगत शाखा प्रमुखहरुसहित अपाङ्गता समन्वय समितिका पदाधिकारी तथा सदस्यहरुबीच भएको छलफलबाट भौतिक पूर्वाधारहरु निर्माण गर्दा अपाङ्गमैत्री बनाउनुपर्ने निष्कर्षमा पुगेको हो ।
वालिङ नगरपालिकालाई सबै दृष्टिकोणबाट अपाङ्गमैत्री बनाउन तयार रहेको नगर उपप्रमुख कविता तिवारी गैह«ेले बताउनुभयो । “नगरपालिकाले यसअघि निर्माण गरिसकेका भौतिक पूर्वाधारहरुलाई अपाङ्गमैत्री बनाउन पहल गर्दै जान्छौं” उहाँले भन्नुभयो, “अब नयाँ बन्ने भौतिक पूर्वाधारहरुलाई अनिवार्यरुपमा अपाङ्गमैत्री बनाउन नगरपालिका प्रतिवद्ध छ ।” आगामी बजेट निर्माण गर्दा देखावटी भन्दापनि नतिजामुखी होस् भन्ने आँफूहरुको चाहना भएको उहाँले बताउनुभयो । “कार्यक्रम तथा योजनाहरु बनाउँदा लक्षित वर्गसम्म पुग्ने र दीगो विकास हुने गरी कामलाई अगाडि बढाउन हामी प्रतिवद्ध छौं” उहाँको भनाई थियो ।
वालिङ नगरपालिकाको प्रशासकीय भवनको दोस्रो तलामा अपाङ्गता भएका ब्यक्तिहरुलाई सहज तरिकाले जानकालागि भवनको साईडबाट ¥याम हाल्ने तयारी भएको उहाँले बताउनुभयो । “पहिल्यै बनिसकेका भवनहरुलाई के कसरी मर्मत गरी अपाङ्गमैत्री बनाउन सकिन्छ त्यसमा ध्यान दिन्छौं” उहाँले भन्नुभयो, “अब बन्ने नयाँ संरचना तथा भौतिक पूर्वाधारहरुमा अनिवार्यरुपमा अपाङ्गमैत्री बनाउनुपर्छ भन्नेमा हामी प्रतिवद्ध छौं र कार्यान्वयनमा जोड दिन्छौं ।”
स्मार्ट सिटीको अवधारणा बमोजिम अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाको अडियो भिडियोसहितको नागरिक बडापत्र निर्माण गर्ने, स्थानीय तहमा बनेका ऐन, कानून तथा कार्यविधिहरुको अध्ययन गरी अपाङ्गतामैत्री बनाउनकालागि सुझाव दिईएको राष्ट्रिय अपाङ्ग महासंघ गण्डकी प्रदेश अध्यक्ष खोमराज शर्माले बताउनुभयो । नगरपालिको वेवसाईट तथा अन्य सूचनाहरु अपाङ्गमैत्री हुनुपर्ने, सरोकारवाला शाखा प्रमुखहरुसँग आवश्यक समन्वय, छलफल तथा अन्तरक्रिया गर्ने, अपाङ्गत समन्वय समितिको बैठकबाट आवश्यक निर्णय गरी उठेका सवालहरुमाथि प्रतिवद्धता बमोजिम स्याङ्जा अपाङ्ग समाज, पैरवी समूह र थप प्राविधिक सहयोग राष्ट्रिय अपाङ्ग महासंघ नेपालबाट सहजीकरण गर्नुपर्ने सुझाव दिईएको अध्यक्ष शर्माले बताउनुभयो । नगरपालिकाले चालु आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत अपाङ्गता लक्षित कार्यक्रम सञ्चालन गर्न स्याङ्जा अपाङ्ग समाजले सहजीकरण गर्ने स्याङ्जा अपाङ्ग समाजका अध्यक्ष राम शर्मा पोख्रेलले बताउनुभयो ।