भीरकोटका महिलालाई उद्यमशीलतामा जोड्न कृषि विकास परियोजना

0
139
Google search engine

वालिङ, ५ असार ।
स्याङ्जाको भीरकोटमा ‘कृषि तथा पशु विकास परियोजना’ सुरु भएको छ । पालिकाका साना किसान र महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रुपमा सवल र सक्षम बनाउन कार्यक्रम सुरु गरिएको नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले जानकारी दिनुभयो ।
भीरकोटका विपन्न र निम्न आय भएका परिवारलाई आयआर्जनमा जोडेर गरिबी कम गर्ने पालिकाको योजना रहेको उहाँको भनाई छ । नगरपालिकाले हेफर प्रोजेक्ट नेपाल र दियालो संस्थासँगको सहकार्यमा कार्यक्रम सुरु गरेको नगर प्रमुख कर्माचार्यले जानकारी दिनुभयो ।

Google search engine

नगरपालिकामा भएको परियोजना समन्वय तथा अनुगमन समितिका पदाधिकारीहरुको अभिमुखीकरण कार्यक्रममा नगरप्रमुख कर्माचार्यले कृषि र पशुको क्षेत्रमा पालिकाले योजनाबद्धरुपमा काम गरिरहेको बताउनुभयो । उत्पादन र बजारीकरणको कामलाई सँगसँगै लैजाने योजना रहेको उहाँको भनाई छ ।

कृषि तथा पशु उद्यम अन्तर्गत महिला समूहलाई परिचालन गरी काम गर्ने प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीले जानकारी दिनुभयो । विदेशबाट फर्किएका र स्वदेशमा नै केही गर्न चाहाने युवायुवतीलाई उत्पादनमा जोड्न युवा समूह मार्फत पनि काम गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका वरिष्ठ कार्यक्रम अधिकृत बिष्णुप्रसाद पाण्डेले परियोजनाको लक्ष्य, योजना र गरिने क्रियाकलापकाबारेमा जानकारी गराउनु भएको थियो । सो अवसरमा उहाँले साना किसान र महिलाहरुकालागि परियोजनाले काम गर्ने जानकारी दिनुभयो ।

यस्तै दियालो संस्थाका कार्यबाहक अध्यक्ष विष्णु सुवेदीले कृषि र पशु विकासका लागि सबैको सहकार्य महत्वपूर्ण हुने बताउनुभयो ।

कार्यक्रममा नगर उपप्रमुख भगवती रेग्मी अर्याल, नगर प्रवक्ता तथा वडा अध्यक्ष दिपेन्द्र केसी, वडा अध्यक्षहरु श्यामकाजी अधिकारी, नन्दलाल खनाल, वित्तिय अधिकृत अम्बिका पौडेल, दियालो संस्थाका कोषाध्यक्ष चण्डिका सापकोटा, हेफर प्रोजेक्टका एक्सेस टु फाईनान्स नागेन्द्र भट्ट लगायतले कार्यक्रमकोबारेमा जानकारी गराउनु भएको थियो ।

परियोजनाले बैङ्कसँगको सहकार्यमा सहुलियत कर्जा प्रवाहकालागि समेत काम गर्ने पालिकाले जनाएको छ । हेफरले परियोजनामा भीरकोट नगरपालिकाको ७० प्रतिशत र हेफरको ३० प्रतिशत साझेदारी रहने पालिकाले जनाएको छ । परियोजनाका २० महिने अवधिका लागि तीन करोड ५० लाख रुपियाँको बजेट रहेको भीरकोट नगरपालिकाका योजना अधिकृत यामप्रसाद रेग्मीले जानकारी दिनुभयो । कार्यक्रम पालिकाको नौं वटै वडामा सञ्चालन हुने पालिकाले जनाएको छ ।

Google search engine