वालिङ, २९ जेठ ।
सुनचाँदी ब्यावसायी संघ स्याङ्जाले सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशत विलासिता कर खारेज गर्नुपर्ने माग गरेको छ । नेपाल सरकारले २०८२÷०८३ को बजेट वक्तब्यमार्फत समेटिएका अब्यवहारिक कर नीतिको खारेजी तथा पुनर्विचार गर्नुपर्ने माग आज पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल हस्तकला महासंघले आज देशैभरी सबै जिल्लाहरुमा पत्रकार सम्मेलन गरेका हुन् ।
केन्द्रको निर्देशन बमोजिम सुनचाँदी ब्यवसायी संघ स्याङ्जाले पनि आज वालिङमा पत्रकार सम्मेलन गरी हाल सबै प्रकारका सुन तथा सुनका गहनामा लागू गरिएको २ प्रतिशन विलासिता कर खारेज गर्नुपर्ने, हिरा जवहरात जडित गहनामा लागू गरिएको मुल्य वृद्धि कर भ्याट तत्काल पुनर्विचार गरी खारेज गर्नुपर्ने, सुनचाँदीको कारोवारलाई दीर्घकालीनरुपमा प्रोत्साहित गर्न चाँडोभन्दा चाँडो ऐन, नियम तथा नीतिहरु निर्माण गर्नुपर्ने मागहरु अगाडि सारेको छ । त्यस्तैगरी कर संरचना परिवर्तन गर्नुपूर्व मौजुदा ब्यवसाय, रोजगारी तथा बजारमा पर्ने दूरगामी प्रभावहरुको विस्तृत अध्ययन गर्ने, करको दायरा नबढाउने, छिमेकी मुलुक भारतमा सरहनै नेपालमा पनि भन्सार दर ६ प्रतिशत कायम गर्नुपर्ने, विश्व बजारको मान्यता अनुसार गुणस्तर प्रमाणिकरणकालागि अन्तराष्ट्रिय मान्यता प्राप्त ल्यावको ब्यवस्था गर्नुपर्ने, निर्यातको ढुवानीमा २ दशमलव ५ प्रतिशत टिडिएस लाग्ने ब्यवस्था खारेज गरिनुपर्ने माग अगाडि सारिएको छ ।
राज्यले ल्याएका जुनसुकै नीति नियमहरुलाई ब्यवसायीहरुले निर्वाधरुपमा लागू गर्दै आएको अवस्थामा पछिल्लो समयमा राज्यले सम्वद्ध ब्यवसायीको माग र सुझावलाई वेवस्ता गर्दै एकोहोरोरुपमा लागू गर्न खोजेको अवस्था आएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका केन्द्रीय सदस्य हिमलाल विश्वकर्माले बताउनुभयो ।
यस्तो मूल्य वृद्धिले हाम्रो देशको खुल्ला सिमानाबाट सुनका गरगहनाको अवैध आयातलाई अझै धेरै प्रोत्साहन मिल्ने दावी उहाँको छ ।
“एउटै गहनामा विलासी कर र भ्याट लागू हुने भएपछि दोहोरो कर लागू भएको छ” केन्द्रीय सदस्य विश्वकर्माले भन्नुभयो, “जसलाई कुनैपनि अर्थमा न्यायोचित मान्न सकिंदैन ।”
यहाँका २५ हजार ब्यवसायी र ३ लाखभन्दा बढी कालीगढ तथा मजदूरहरु र १५ लाख आश्रित ब्यक्तिको रोजीरोटी धरापमा पर्ने निश्चत भएको उहाँको दावी छ ।
विश्व बजारमा सुनको मूलय वृद्धि भई सामान्य उपभोक्ताको क्रयशक्तिभन्दा ज्यादा भई कारोबार नै लगभग ठप्प प्रायः भएको विद्यमान अवस्थामा एकपछि अर्को गर्दै करको बोझ थपी ब्यवसायी र उपभोक्ताले थेग्नै नसक्ने गरी भार बोकाईनु जायज नभएको निष्कर्ष सुनचाँदी ब्यवसायी संघ जिल्ला अध्यक्ष लेखनाथ गहतराजले बताउनुभयो ।
सुनका गरगहना हाम्रो धर्म, संस्कृति, सामाजिक संस्कार तथा रीतिरिवाजको अभिन्न हिस्सा भएकाले यसमा विलासिता कर लाग्नुहुँदैन भन्ने सुनचाँदी ब्यवसायीको माग रहेको उहाँले बताउनुभयो ।
पत्रकार सम्मेलनमा उठेका विभिन्न जिज्ञाशाहरुको नेपाल सुनचाँदी ब्यवसायी महासंघका केन्द्रीय सदस्य हिमलाल विश्वकर्मा, जिल्ला अध्यक्ष लेखनाथ गहतराजले सहजीकरण गर्नुभएको थियो ।
जिल्ला अध्यक्ष गहतराजको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनको सञ्चालन जिल्ला सचिव रुद्र विश्वकर्माले गर्नुभएको थियो ।
केन्द्रीय निर्देशन बमोजिम जिल्ला जिल्लामा विभिन्न चरणमा विरोधका कार्यक्रमहरु भईरहेका छन् । स्याङ्जामा आज सुनचाँदी ब्यवसायको कारोबार बन्द गरिएको हो भने भोलि पनि बन्द रहने भएका छन् । भोलि ३० गते शुक्रबार जिल्ला प्रशासन कार्यालय स्याङ्जामा चावी हस्तान्तरण गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।





