वालिङ, २८ माघ ।
आठौँ वालिङ महोत्सवमा गरिएको कृषि प्रदर्शनी तथा प्रतियोगिताका विजेतलाई पुरस्कृत गरिएको छ । वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाद्धारा आयोजित कृषि प्रदर्शनी तथा प्रतियोगितामा विभिन्न विधामा कृषकहरुलाई पुरस्कृत तथा सम्मान गरिएको हस्तकला तथा स्थानीय उत्पादन उपसमितिका संयोजक पिताम्बर भुसालले बताउनुभयो । विभिन्न ५ विधामा प्रथम, द्वितीय र तृतीय छनोट भएका छन् भने १६ जनाले सान्त्वना पुरस्कार गरिएको उहाँले बताउनुभयो । माघ २३ गतेदेखि २५ गतेसम्म गरिएको कृषि प्रदर्शनीमा तरकारीतर्फ वालिङ ५ की भीमा रेग्मी प्रथम, वालिङ ५ कै हुमनाथ लामिछाने द्वितीय र वालिङ १३ की जमुना तिवारी तृतीय हुनुभएको छ ।

त्यस्तै फलफूलतर्फ वालिङ ५ की सुशीला लामिछाने प्रथम, वालिङ ६ की गंगा रेग्मी द्वितीय र वालिङ ६ कै रोमणीप्रसाद रेग्मी तृतीय हुनुभएको छ । त्यस्तै नगदेबालीतर्फ वालिङ १४ का नारायण खांँण प्रथम, वालिङ ११ का थानबहादुर थापा द्वितीय र वालिङ ५ का सन्तोष लामिछाने तृतीय हुनुभएको छ । त्यस्तै अन्नबालीतर्फ वालिङ १ का सञ्जय काफ्ले प्रथम, वालिङ ५ का भीमराज लामिछाने द्वितीय र वालिङ १ की अम्बिका अर्याल तृतीय हुनुभएको उपसमितिका सदस्य गंगाधर खनाल राजुले जानकारी दिनुभयो ।
त्यस्तै मसलाबालीमा वालिङ २ का लोकनाथ ढुंगाना प्रथम, वालिङ ५ का हुमनाथ लामिछाने द्वितीय र वालिङ ५ कै गिरधारी लामिछाने तृतीय हुनुभएको छ । प्रतियोगितामा १६ जनालाई सान्त्वना पुरस्कार प्रदान गरिएको हो ।

प्रतियोगितामा काउली, टमाटर, सुन्तला, मेवा, केरा, च्याउ, उँखु, कफि, फापर, मकै, अलैँची, अकबरे खुर्सानी, अदुवालगायत विभिन्न तरकारी, फलफूल, नगदेबाली, अन्नबाली र मसलाबाली प्रदर्शनी गरिएको सदस्य शिवलाल डुम्रेले जानकारी दिनुभयो। कृषि ज्ञानकेन्द्र स्याङ्जा, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुन्तला सुपरजोन स्याङ्जा, कृषि श्रोत विकास केन्द्र वालिङ, वालिङ नगरपालिका कृषि शाखा, पशु शाखाका प्रमुख तथा प्रतिनिधिको मूल्याङ्कन समिति निर्माण गरी स्थानीय कृषकहरुले ल्याएको कृषिजन्य सामग्रीहरुको प्रदर्शन र प्रतियोगिता गरिएको हो । मूल्याङ्कन समितिले कृषिजन्य उत्पादनहरुको अवलोकन र मूल्याङ्कन गरी कृषकहरुलाई विभिन्न विधामा पुरस्कृत गरेको संयोजक भुसालले बताउनुभयो ।





