स्याङ्जामा गत आर्थिक वर्षमा उद्योग र वाणिज्य दर्ताभन्दा खारेजी बढी

0
41
Google search engine

आरती कुँवर

Google search engine

वालिङ, २ भदौ । स्याङ्जाका उद्योग र वाणिज्य क्षेत्रमा गत आर्थिक वर्ष २०८२/०८३ मा व्यवसाय दर्ता गर्नेभन्दा बन्द (खारेजी) गर्नेको संख्या बढी देखिएको छ। एकीकृत सेवा कार्यालयको तथ्यांक अनुसार उक्त गत एक वर्षको अवधिमा १४८ वटा उद्योग दर्ता र १४२ वटा वाणिज्य फर्महरू दर्ता भएका छन्। एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलका अनुसार सोही अवधिमा १६९ वटा उद्योग र १६५ वटा वाणिज्य फर्महरूले आफ्नो दर्ता खारेज गराएका छन्। उद्योग दर्ता, नवीकरण र खारेजी प्रक्रियाबाट सो वर्ष कुल ५२ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन भएको कार्यालय प्रमुख पौडेलले जानकारी दिनुभयो।

पछिल्लो समय व्यवसाय दर्ताभन्दा खारेजीको दर बढ्नुलाई कार्यालयले गम्भीरताका साथ लिएको प्रमुख पौडेलको भनाइ छ । उहाँले भन्नुभयो, “अहिले व्यवसाय दर्ता गर्नेहरू भन्दा विभिन्न कारणले फर्म खारेज गर्नेहरूको चाप बढेको छ। तथ्यांक हेर्दा दर्ता प्रक्रिया सामान्य देखिए पनि खारेजीको संख्या बढ्नुमा युवा पुस्ताको विदेश पलायन, विभिन्न सरकारी सुविधा तथा वैदेशिक रोजगारीको लागी कारोबार देखाउनु रहेको छ।” कतिपयले सरकारी अनुदान लिन, बैङ्कबाट ऋण निकाल्न वा वैदेशिक यात्राका लागि आवश्यक कागजात मिलाउन मात्र अस्थायी रूपमा फर्म दर्ता गर्ने गरेका छन्। यस्ता प्रयोजन पूरा हुनासाथ वा कागजी प्रक्रिया सकिनासाथ उनीहरूले व्यवसाय बन्द गर्ने गरेकाले तथ्यांकमा खारेजीको संख्या उच्च देखिएको उहाँले बताउनुभयो ।

बजारमा उपभोक्तको क्रयशक्ति घट्नु र आर्थिक गतिविधि सुस्त हुनुले साना तथा मझौला व्यवसायीहरूमा असर पारेका कारण व्यवसाय सदाका लागि बन्द गर्न बाध्य भएको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष अनुपमा ढुङ्गाना तिवारीले बताउनुभयो ।

Google search engine