कांग्रेस बरिष्ठ नेता श्रेष्ठको निधन

0
2
Google search engine

वालिङ, १३ साउन ।
नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्व उपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा मंगलबार निधन भएको छ । उपचारकाक्रममा श्रेष्ठको जावलाखेलस्थित हेलियस अस्पतालमा निधन भएको हो । श्रेष्ठको बुधबार शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने बताइएको छ । श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा राखिएको छ । श्रेष्ठको पार्थिव शरीरमा सभापति गगन थापाले पार्टीको झण्डा ओढाउनुभएको हो ।
कांग्रेस सभापति थापाले साउन ७ गते श्रेष्ठलाई पार्टीको वरिष्ठ नेतामा मनोनित गरेको थियो । वि.स. २००१ मा जन्मिनुभएका नेता श्रेष्ठ नेपाली लोकतान्त्रिक आन्दोलनका एक अथक योद्धा हुनुहुन्थ्यो । २०१७ सालमा विद्यार्थी जीवनदेखि नै प्रजातन्त्र र लोकतन्त्रको पक्षमा निरन्तर संघर्ष गर्नुभएका श्रेष्ठले २०३६ सालको जनमतसंग्रहमा अग्रपंक्तिमा रहेर भूमिका निर्वाह गर्नुभएको थियो ।

Google search engine

नेता श्रेष्ठले २०४२ देखि २०४८ सम्म कांग्रेस स्याङ्जाको सभापतिको जिम्मेवारी सम्हाल्नुभएको थियो । प्रजातन्त्र पुनस्र्थापनापछिको पहिलो आमनिर्वाचन–२०४८ मा उहाँ स्याङ्जा–१ बाट निर्वाचित हुनुभएको थियो । २०४८ को आमनिर्वाचनपछि गठन भएको गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा कांग्रेसले नेता श्रेष्ठलाई वाणिज्यमन्त्रीको जिम्मेवारी सुम्पिएको थियो । उहाँ २०५१ को मध्यावधि निर्वाचनमा भने स्याङ्जा–१ बाट पराजित हुनुभएको थियो ।
२०५६ को निर्वाचनबाट फेरि प्रतिनिधिसभा सदस्यमा विजय हुनुभएका श्रेष्ठलाई कांग्रेसले मुख्य सचेतक बनाएको थियो । उहाँले २०५७ मा वन मन्त्रालयको जिम्मेवारी सम्हालेका थियो । कांग्रेस विभाजनका क्रममा नेता श्रेष्ठ नेपाली कांग्रेस (प्रजातान्त्रिक) को पक्षमा उभिनुभएको थियो । उहाँले २०५९ देखि २०६३ सम्म कांग्रेस प्रजातान्त्रिकको कार्यवाहक सभापति भएर पार्टी सञ्चालन गर्नुभएको थियो । पार्टी एकीकरणपछि नेता श्रेष्ठले उपसभापतिको जिम्मेवारी पाउनुभएको थियो । पहिलो संविधानसभा सदस्य निर्वाचन–२०६४ मा स्याङ्जा–२ बाट निर्वाचित हुनुभएको थियो । विषम परिस्थितिमा निर्वाचन जित्नुभएका श्रेष्ठलाई पार्टीले भौतिक योजनामन्त्रीको जिम्मेवारी दिएको थियो ।

वरिष्ठ नेता श्रेष्ठ दोस्रो संविधानसभा सदस्य निर्वाचन–२०७० मा समानुपातिकतर्फ संविधानसभा सदस्य बन्नुभएको थियो । उहाँ २०७२ उपप्रधान तथा शिक्षामन्त्री हुनुभएको थियो । स्याङ्जा जिल्लाकै अभिभावककारुपमा रहनुभएका नेता श्रेष्ठको निधनले स्याङ्जा शोकमा डुबेको छ । जिल्लाको विकास निर्माणका क्षेत्रमा लामो समयदेखि भूमिका खेल्नुभएका श्रेष्ठको निधनमा बुधबार स्याङ्जा सदरमुकामस्थित पुतलीबजार नगरपालिकाले बुधबार एकदिन शोक विदा दिएको छ ।

Google search engine