तोलाकान्त बगाले
वालिङ, १ साउन ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आज १३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जा र वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले विभिन्न मुद्धाका १३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्ने फरार प्रतिवादीहरुमा ९ जना पुरुष र ४ जना महिला रहेका जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक एवम् सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिनुभयो । पक्राउ परेका फरार प्रतिवादीहरुमध्ये सबैभन्दा धेरै अंशबण्डा मुद्धाका रहेका छन् । विभिन्न ७ वटा शीर्षकका मुद्धाहरुमध्ये अंशबण्डा मुद्धाका ३ जना, लुटपिटका २ जना, सम्बन्ध विच्छेदका २ जना, कुटपिटका २ जना, चोरीका २ जना, चेक अनादर र लेनदेन मुद्धाका १-१ गरी १३ जना पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरुलाई जिल्लाका विभिन्न स्थानहरुबाट आज पक्राउ गरी फैसला कार्यान्वयनकालागि स्याङ्जा जिल्ला अदालतमा पेश गरेको सूचना अधिकारी अवस्थीले जानकारी दिनुभयो । पक्राउ परेका व्यक्तिहरुबाट ३० दिन कैद तथा रु. २३ हजार ४२० जरिवाना असुल उपर भएको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विभिन्न मुद्धामा फरार रहेका प्रतिवादीहरुको खोजी कार्यलाई तिव्रता दिएसँगै फरार प्रतिवादीहरु पक्राउ पर्नेक्रम बढ्दै गएको छ । अदालतबाट कैद वा जरिवाना तोकिएका फरार प्रतिवादीहरु कानूनको नजरमा दोषी भएकाले उम्कन नसक्ने सूचना अधिकारी अवस्थीले बताउनुभयो ।
“सम्मानित अदालतबाट भएको फैसला कार्यान्वयनलाई चुस्त, दुरुस्त र प्रभावकारी बनाई न्यायिक कारवाहीलाई पूर्णता दिने गरी अभियानलाई तिब्रता दिएका छौं” अवस्थीले भन्नुभयो, “सुरक्षित र न्यायपूर्ण समाज निर्माणको सुनिश्चितताकालागि हामी प्रतिवद्ध छौं ।”





