वालिङ, ९ असार ।
स्याङ्जा प्रवेश गर्ने प्रमुख नाका राम्दी–गल्याङ क्षेत्रमा भारत लगायत विभिन्न देशबाट आउने पर्यटकलाई लक्षित गरी स्वागत तथा सचेतनामूलक अभियान आजदेखि सुरु गरिएको छ ।
अभियान अन्तर्गत स्याङ्जाका धार्मिक, सांस्कृतिक तथा पर्यटकीय स्थलहरूको जानकारी समेटिएका पम्प्लेट वितरण गर्दै पर्यटकहरूलाई स्वागत गरिएको छ। साथै पर्यटकमैत्री व्यवहार, सुरक्षित यात्रा र वातावरण संरक्षणसम्बन्धी सन्देशहरू समेत प्रवाह गरिएको छ ।
एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलले यस कार्यक्रमले स्याङ्जाको पर्यटन प्रवद्र्धन, पर्यटकको सुरक्षित यात्रा तथा जिल्लाको सकारात्मक पहिचान स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

शसस्त्र प्रहरी गुल्म वालिङका प्रहरी निरिक्षक दिपेन्द्र पौडेलले सिद्धार्थ राजमार्गको स्याङ्जा खण्ड साँघुरो र धेरै घुम्ती भएको क्षेत्र भएकाले सडक दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्रालाई सहयोग पुर्याउन यसअभियानले सहयोग गर्ने वताउनु भयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका ट्राफिक प्रमुख नरेन्द्र बहादुर शाहीले यात्रु तथा पर्यटकहरूलाई सवारी साधन सावधानीपूर्वक चलाउन, ट्राफिक नियमको पालना गर्न तथा यात्रा सुरक्षित बनाउन आवश्यक सचेतना सहितको पम्प्लेट प्रदान गरिने भएको छ । एकीकृत सेवा कार्यालय स्याङ्जाका प्रमुख जीवन पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कम्प्युटर अपरेटर कृष्ण लम्सालले गर्नु भएको थियो ।

गण्डकी प्रदेश सरकार अन्तर्गतको एकीकृत सेवा कार्यालय स्याङ्जा, जिल्ला प्रशासन कार्यालय स्याङ्जा, जिल्ला प्रहरी कार्यालय स्याङ्जा तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको सहयोग र सहकार्यमा यो अभियान सुरु भएको हो ।





