वालिङ, ११ साउन ।
गण्डकी प्रदेश सभा सदस्य एवं अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले स्याङ्जाको गल्याङ नगरपालिका–६ स्थित बाढी तथा पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ । गत असार २९ गते आएको बाढी, पहिरोले गल्याङ–६, पिढीखोलास्थित डुँडे बजार र नरोदय माध्यमिक विद्यालयमा ठूलो क्षति पुर्याएको थियो। सोही प्रभावित क्षेत्रमा आइतबार सभापति अर्याल, नेपाली कांग्रेस गल्याङ नगर सभापति श्यामप्रसाद बस्याल र वडाध्यक्ष दीप गुरुङ (छिरिङ) लगायतको टोली पुगेर प्रत्यक्ष त्यहाँको अवस्थाबारे जानकारी लिएको हो ।

निरीक्षणका क्रममा सभापति अर्यालले बाढी, पहिरोले पुर्याएको क्षतिको वास्तविक अवस्था बुझ्न स्थलगत भ्रमण गरिएको बताउनुभयो । उहाँले पीडित परिवारका लागि राहत, पुनस्थापना र दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायहरूसँग तत्काल आवश्यक पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

यस्तै अहिले डुँडे बजार नै उच्च जोखिममा परेको छ । सिँचाइ कुलोहरू बगाउनुका साथै धानबालीमा समेत ठूलो क्षति पुगेको छ । वडा सचिव रश्मि भुषाल चापागाँईका अनुसार नरोदय माध्यमिक विद्यालयको शौचालय ढलेको छ भने पर्खाल (कम्पाउण्ड) भत्काएर बाढी विद्यालय हाताभित्र पसेको थियो। हाल बर्खे बिदाका कारण विद्यालय भने बन्द छ ।

त्यस्तै, विद्यार्थी तथा सर्वसाधारण वारपार गर्ने पुल बगाएपछि स्थानीयले अस्थायी रूपमा बाँसको फड्के बनाएर आउजाउ गरिरहेका छन् । वडा कार्यालयले जोखिममा रहेका घरहरूमा तत्कालका लागि त्रिपाल वितरण गरी पानी तर्काउने व्यवस्था मिलाएको छ । पीडितहरूबाट निवेदन सङ्कलन गरी नगरपालिकाको विपत् व्यवस्थापन शाखामा पठाउने र सोही आधारमा राहत उपलब्ध गराइने वडा कार्यालयले जनाएको छ ।
यसैबिच, सभापति अर्यालले गल्याङ–६ पातीखर्क, बनपालाका स्वर्गीय धनबहादुर थापाको निवासमा पुगी शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभएको छ । गत असार ३२ गते बिहान गोठ भत्किँदा च्यापिएर थापाको निधन भएको थियो ।





