गएको वर्ष सवारीसाधन कारबाहीबाट एक करोड १५ लाख बढी राजस्व संकलन

0
16
Google search engine

आरती कुँवर
वालिङ, ८ साउन ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले गएको आर्थिक वर्षमा सवारीसाधन कारबाहीबाट एक करोड १५ लाख बढी राजस्व संकलन गरेको छ । कार्यालयले आर्थिक वर्ष २०८२÷०८३ मा ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि कारबाही गर्दा एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व संकलन गरेको हो । गएको वर्षभरी विभिन्न प्रकारका १३ हजार ५५१ सवारीसाधन कारबाहीमा परेका छन् ।
उक्त सवारी साधन कारबाहीमा पर्दा एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो । आर्थिक वर्षको तथ्यांक हेर्ने हो भने जेठ महिनामा सबैभन्दा धेरै सवारी साधन कारबाहीमा परेका छन् । जेठ महिनामा मात्रै १ हजार ५०२ सवारीसाधन कारबाहीमा पर्दा १२ लाख २७ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।
यस्तै सबैभन्दा धेरै कारबाहीमा पर्ने सवारीसाधनमा मोटरसाइकल रहेको छ । कार्यालयका अनुसार आर्थिक वर्षभर ४ हजार ६१४ मोटरसाइकल कारबाहीमा परेका छन् । मोटरसाइकल कारबाहीबाट मात्रै एक वर्षमा ४० लाख २५ हजार ५ सय राजस्व उठेको छ ।
त्यस्तै कार तथा जीप ३ हजार ३२६ कारबाहीमा पर्दा २८ लाख ६७ हजार, ट्रक र टिपर २ हजार २५५ कारबाहीबाट १९ लाख १० हजार ५ सय, बस १ हजार ५४० कारबाही पर्दा १२ लाख ६५ हजार ५ सय, ट्याक्टर ९१२ कारबाहीबाट ७ लाख २० हजार ५ सय र अन्य ९४२ सवारीसाधन कारबाहीमा पर्दा ७ लाख ४१ हजार राजस्व संकलन भएको ट्राफिक कार्यालय स्याङ्जाले जनाएको छ ।
तथ्यांकले ट्राफिक कारबाहीसँगै राजस्व संकलनमा पनि घट्दो देखाएको छ । आर्थिक वर्ष २०८१÷०८२ मा १९ हजार २८९ सवारीसाधन कारबाहीमा परेका थिए भने त्यसबाट १ करोड ४१ लाख ५३ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको थियो । त्योभन्दा अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा १४ हजार ६१० सवारीसाधन कारबाही हुँदा १ करोड १० लाख ९७ हजार रुपैयाँ राजस्व उठेको थियो ।
प्रहरी नायब निरीक्षक शाहीले जेनजी आन्दोलन र प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण केही समय नियमित ट्राफिक कारबाही प्रभावित भएकाले त्यसको असर कारबाही र राजस्व संकलनको तथ्यांकमा पनि देखिएको बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्दै आफ्ना गतिविधिलाई तिव्र पारेको छ ।
दुर्घटना रोक्न नियमित सवारी चेकजाँच, सडक सचेतना कार्यक्रम तथा ट्राफिक नियम उल्लंघन गर्ने चालकमाथि कडा कारबाही अभियानलाई निरन्तरता दिइएको ट्राफिक प्रहरी नायब निरीक्षक शाहीले बताउनुभयो ।
सडक सुरक्षाका प्रयास जारी रहेकै बीच चालू आर्थिक वर्ष २०८२÷०८३ मा जिल्लाभर २० वटा सवारी दुर्घटना दर्ता भएका छन्। ती दुखद घटनाहरूमा परी ९ जनाले ज्यान गुमाएका छन् भने २४ जना गम्भीर र २३ जना सामान्य घाइते भएका छन्। ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार यस्ता दुर्घटनामा मुख्यगरी मोटरसाइकल, जीप र बसहरू बढी रहेको पाइएको छ ।

Google search engine
Google search engine